काठमाडौं । नेपाली सैनिक वार कलेजमा मिति २०८२ चैत्र १५ गतेबाट सञ्चालन भएको सि.सं.१४ हायर कमाण्ड तथा म्यानेजमेन्ट (Higher Command and Management Course) तालिमको मिति २०८३ श्रावण ५ गते प्रधान सेनापति अशोक राज सिग्देलले एक कार्यक्रमका बिच समापन गरेका छन् ।
महासेनानी दर्जाका ३५ जना शिक्षार्थीहरूको सहभागिता रहेको तालिमको समापन कार्यक्रममा तालिम प्रमुख शिक्षक उपरथी मधुकर सिंह कार्कीले स्वागत मन्तव्य राखेका थिए । तालिममा महासेनानी प्रशान्त बज्राचार्य समग्रमा प्रथम (Best Student Officer) भएका छन् भने सर्वोत्कृष्ट शोधपत्र पुरस्कार महासेनानी प्रकाश थापाले प्राप्त गरेका छन् ।
समापन समारोहमा पूर्व प्रधान सेनापतिहरू, रथीबृन्द, अधिकृत लगायत शिक्षार्थी अधिकृतहरूका परिवारजनको उपस्थिति रहेको नेपाली सेनाले जनाएको छ ।
सैनिक अधिकृतहरूका लागि नेपाली सेनामा सञ्चालन हुने सबैभन्दा उच्च स्तरको यस तालिमको उद्देश्य शिक्षार्थीहरूलाई Statecraft, Geopolitics and Economic Dynamics, Political Philosophy, Diplomacy, World Order, Military and Security Strategy र Leadership and Management सम्बन्धी विषयहरूमा ज्ञान प्रदान गर्नु रहेको छ । नेपाली सेनामा वि.सं. २०७१ सालदेखि सञ्चालन हुँदै आएको यस तालिमबाट हालसम्म जम्मा ४१० जना अधिकृतहरू दीक्षित भएका छन् ।





















