काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिका–८ माकलबारीमा एक युवतीले पेट्रोल छर्केर आत्मदाह प्रयास गरेकी छन्।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईका अनुसार काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिका–३ घर भई माकलबारीमा बस्दै आएकी २७ वर्षीया सालु गुरुङले मंगलबार विहान करिब २:५० बजे आफ्नै खाजा पसलको पछाडिको पार्किङ क्षेत्रमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेकी हुन्।
घटनापछि उनका श्रीमानले घाइते अवस्थामा फेला पारी तत्काल शुस्मा कोइराला मेमोरियल अस्पताल साँखु पुर्याएका थिए। त्यहाँ प्राथमिक उपचारपछि थप उपचारका लागि कीर्तिपुरस्थित बर्न अस्पतालमा रिफर गरिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार गुरुङको अनुहार, छाती तथा दुवै हातसहित शरीरको करिब ५० प्रतिशत भाग जलेको छ। उनी सामान्य रूपमा बोल्न सक्ने अवस्थामा रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको एसपी भट्टराईले जानकारी दिएका छन् ।




















