काठमाडौँ । बुकायो साकाको उत्कृष्ट ह्याट्रिकको मद्दतले फ्रान्सलाई ६–४ ले पराजित गर्दै इङ्गल्यान्डले विश्वकप २०२६ को तेस्रो स्थान (कांस्य पदक) सुरक्षित गरेको छ । गोलको वर्षा भएको रोमाञ्चक खेलमा फ्रान्स पराजित भए पनि उसका स्टार स्ट्राइकर किलियन एमबाप्पे विश्वकप इतिहासकै सर्वाधिक गोलकर्ता बनेका छन् ।
दुवै टोलीको लक्ष्य फाइनल पुग्ने भए तापनि सेमिफाइनलमा ब्यहोरेको हारपछि उनीहरू तेस्रो स्थानका लागि भिडेका हुन् । सेमिफाइनलमा फ्रान्स स्पेनसँग स्तब्ध भएको थियो भने इङ्गल्यान्ड अर्जेन्टिनासँग अन्तिम समयमा चुकेको थियो ।
मियामीको अत्यधिक गर्मीका बीच शनिबार राति भएको खेलमा दुवै प्रशिक्षकले टोलीमा व्यापक परिवर्तन गरेका थिए । इङ्गल्यान्डका प्रशिक्षक थोमस टुचेलले ह्यारी केन र जुड बेलिङ्घमलाई सुरुवाती-११ मा राखेनन् भने १४ वर्षे कार्यकालपछि बिदा हुन लागेका फ्रान्सका प्रशिक्षक डिडियर डेसच्याम्पसले बार्कोला र ओसमाने डेम्बेलेलाई बेन्चमा राखेका थिए ।
खेलको तेस्रो मिनेटमै आर्सनलका मिडफिल्डर डेक्लान राइसले लामो दुरीबाट गोल गर्दै इङ्गल्यान्डलाई अग्रता दिलाए । लगानी लगत्तै एज्री कोन्साले हेडमार्फत गोल गरेपछि इङ्गल्यान्ड २–० ले अघि बढ्यो । सुरुवाती झट्कापछि खेलमा फर्कने प्रयासमा रहेका फ्रान्सेली फरवार्ड किलियन एमबाप्पे र माइकल ओलिसेको प्रहारलाई इङ्गल्यान्डका दोस्रो रोजाइका गोलकिपर डिन हेन्डरसनले उत्कृष्ट बचाउ गरे ।



















