काठमाडौं । व्यवसायी दीपक भट्टसँग सम्बन्धित सम्पत्ति शुद्धीकरण मुद्दाको अनुसन्धानका क्रममा नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका छोरा जयवीर देउवासँग सम्बन्धित कम्पनीहरूमा भएको आर्थिक कारोबार पनि अनुसन्धानको दायरामा परेको छ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका अनुसार भट्टको हिमालयन एसेट म्यानेजमेन्ट प्रालिबाट जयवीर देउवाको लगानी रहेका स्कलर इन्टरनेशनल र डिजी हब नामक दुई कम्पनीमा गरी २ करोड ६० लाख रुपैयाँ भुक्तानी भएको देखिएको छ।
विभागले उक्त रकमको स्रोत, उद्देश्य र कारोबारको प्रकृतिबारे अनुसन्धान गरिरहेको जनाएको छ। विभागले पूर्वअर्थमन्त्री तथा नेकपा ९एमाले०का उपाध्यक्ष विष्णु पौडेलविरुद्ध मुद्दा दायर गर्ने क्रममा सार्वजनिक गरेको विवरणमा जयवीर देउवामाथि पनि अनुसन्धान भइरहेको उल्लेख गरेको छ।
यसअघि पनि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी तथा पूर्वपरराष्ट्रमन्त्री आरजू राणा देउवासँग सम्बन्धित विषयमा समेत अनुसन्धान अघि बढाइरहेको जनाएको थियो।




















