विराटनगर । नेपाली कांग्रेसले कोशी प्रदेश सरकारबाट आफ्ना मन्त्रीहरू तत्काल फिर्ता नबोलाउने निर्णय गरेको छ। बिहीबार बसेको प्रदेश कार्यदलको बैठकले प्रदेशको राजनीतिक अवस्था र संवैधानिक व्यवस्थालाई ध्यानमा राख्दै भोलिसम्म परिस्थिति हेर्ने निर्णय गरेको हो।
कांग्रेस संसदीय दलका प्रमुख सचेतक गोपाल तामाङका अनुसार प्रदेशको पछिल्लो राजनीतिक अवस्थाअनुसार आवश्यक निर्णय गर्न संसदीय दलका नेता तथा पार्टीका प्रदेश सभापति उद्धव थापालाई अधिकार दिइएको छ।
उनले कोशी प्रदेशमा संविधानको धारा १६८(५) अनुसार सरकार गठन भएकाले अन्य प्रदेशभन्दा यहाँको अवस्था फरक रहेको उल्लेख गर्दै परिस्थिति मूल्याङ्कनपछि शुक्रबार निर्णय गरिने बताए।
नेपाली कांग्रेसले बुधबार सातै प्रदेश सरकारमा नेकपा (एमाले)सँगको सहकार्य अन्त्य गर्ने निर्णय गरेको थियो। तर उक्त निर्णयको आधिकारिक निर्देशन केन्द्रबाट अझै प्राप्त नभएको प्रमुख सचेतक तामाङले जानकारी दिए।
कोशी प्रदेशमा कांग्रेसले एमालेसँगको सहकार्य अन्त्य गरी नेकपासँग नयाँ समीकरण बनाउन चाहेको बताइएको छ।
हाल कोशी प्रदेश सरकारमा कांग्रेसका तर्फबाट भौतिक पूर्वाधार विकासमन्त्री प्रदीपकुमार सुनुवार, स्वास्थ्यमन्त्री मानबहादुर लिम्बू, पर्यटन, वन तथा वातावरणमन्त्री भीम पराजुली, उद्योग, कृषि तथा सहकारीमन्त्री इस्राइल मन्सुरी तथा भौतिक पूर्वाधार राज्यमन्त्री शोभा चेम्जोङ सहभागी छन्।




















