काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री विपीन आचार्यले संसद्को कार्यसम्पादनबारे समग्र समीक्षा गर्न सभामुखसँग आग्रह गरेका छन्।
बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सरकारको सय दिन पुगेपछि समीक्षा गर्ने अभ्यास भए पनि संसद्का लागि त्यस्तो ‘हनिमुन अवधि’ लागू नहुने बताए। संसद् सुरु भएयता भएका गतिविधिको निष्पक्ष मूल्याङ्कन आवश्यक रहेको उनको भनाइ थियो।
आचार्यले सांसदहरूको उपस्थिति, उनीहरूले दर्ता गरेका संशोधनले विधेयक कति परिमार्जित भए, संसदीय समितिहरूको कार्यसम्पादन, शून्य, विशेष र आकस्मिक समयमा उठाइएका विषयको सम्बोधन, सांसदहरूको प्रस्तुति तथा प्रतिनिधिसभा नियमावलीको पालना र उल्लङ्घनका घटनाबारे समीक्षा गर्नुपर्ने आवश्यकता औँल्याए।
उनले सत्ता पक्ष, सरकार र प्रतिपक्षबाट नियमावली कति पटक उल्लङ्घन भयो, ती घटनालाई संसद्ले कसरी सम्बोधन गर्यो तथा संसद्को गरिमा बढ्दो क्रममा छ कि घट्दो क्रममा भन्ने प्रश्नसमेत उठाए।
“एउटा सशक्त र समृद्ध संसद् यस्तै हुन्छ कि हाम्रो सामूहिक मिहिनेत अझै पुगेन ?” भन्दै आचार्यले संसद्ले आत्मसमीक्षा गर्नुपर्ने धारणा राखे।
उनले संसद् नागरिकको निराशालाई आशामा बदल्ने थलो भएको उल्लेख गर्दै सभामुखलाई संसद् सही दिशामा अघि बढिरहेको छ वा छैन भन्ने विषयमा समग्र समीक्षा गर्न आग्रह गरे।




















