सुर्खेत । कर्णाली प्रदेश सरकारमा सहभागी नेपाली कांग्रेसका चार मन्त्रीले सामूहिक रूपमा पदबाट राजीनामा दिएका छन्।
बुधबार बिहान कांग्रेसका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरू आर्थिक मामिला तथा योजनामन्त्री राजीव विक्रम शाह, सामाजिक विकासमन्त्री घनश्याम भण्डारी, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री सुरेश अधिकारी तथा ऊर्जा तथा जलस्रोत विकासमन्त्री विजय बुढाले मुख्यमन्त्री यामलाल कँडेलसमक्ष आफ्नो राजीनामा बुझाएका हुन् ।
बुधबार बिहान बोलाइएको मन्त्रिपरिषद् बैठकमा कांग्रेसका मन्त्रीहरू सहभागी भएनन्। आर्थिक मामिला तथा योजनामन्त्री शाह विदेश भ्रमणमा रहेका छन् भने ऊर्जा मन्त्री बुढा पनि बैठकमा उपस्थित भएनन्। मुख्यमन्त्री कार्यालय पुगेका वनमन्त्री अधिकारी र सामाजिक विकासमन्त्री भण्डारी भने मन्त्रिपरिषद् बैठकमा सहभागी नभई राजीनामा बुझाएर फर्किएका थिए।
कर्णाली प्रदेशमा नेकपा (एमाले) र नेपाली कांग्रेसको गठबन्धन सरकार रहेको छ। सरकारको नेतृत्व एमालेका मुख्यमन्त्री यामलाल कँडेलले गरिरहेका छन्। एमालेबाट मुख्यमन्त्रीसहित दुई मन्त्री र एक राज्यमन्त्री सरकारमा छन्।
एमाले र कांग्रेसबीच यसअघि आलोपालो सरकार सञ्चालन गर्ने सहमति भएको थियो। सोही सहमतिअनुसार कांग्रेसका मन्त्रीहरूको सामूहिक राजीनामालाई राजनीतिक रूपमा अर्थपूर्ण कदमका रूपमा हेरिएको छ।




















