काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रमुख सचेतक प्रकाशचन्द्र परियारले सञ्चारगृहलाई लक्षित गरी भएको गतिविधिको निन्दा गर्दै प्रेसमाथिको कुनै पनि प्रकारको त्रास र अराजकता स्वीकार्य नहुने बताएका छन्।
मंगलबार प्रतिनिधिसभाको बैठकको विशेष समयमा बोल्दै परियारले आफूहरू सत्तामा रहेकै कारण प्रेस स्वतन्त्रतामाथि हुने हस्तक्षेपको साक्षी बन्न नसक्ने बताए। कसैको नाम नलिए पनि उनले सरकार र गृह प्रशासनको ध्यानाकर्षण गराउँदै सञ्चारमाध्यमको सुरक्षाको प्रत्याभूति दिन आग्रह गरे।
“हामी सत्तामा छौँ भन्दैमा, कसैका स्वार्थ ठोक्किँदैमा प्रेसमाथि हुने कुनै पनि शैलीको त्रासदी र अराजकताको साक्षी हुन सक्दैनौँ। लोकतन्त्रको रक्षाका लागि स्वतन्त्र प्रेसको प्रतिरक्षा गर्न हामी अग्रसर नभए अरू कसले बोल्छ ?” उनले भने।
परियारले राजधानीका केही अग्रणी सञ्चारगृहका मुख्य प्रवेशद्वारमा सवारीसाधन पार्क गरेर आवतजावत अवरुद्ध पार्ने प्रयास भएको उल्लेख गर्दै त्यसको कडा शब्दमा भर्त्सना गरे।
“हिजो सञ्चारगृहका मुख्य प्रवेशद्वारमै गाडी पार्किङ गरेर भौतिक रूपमा आवतजावत रोक्ने र सञ्चारगृहलाई तर्साउने कुत्सित प्रयास गरियो। सत्यसँग डराउनेहरूले मात्रै यस्तो हर्कत गर्छन्। सत्यलाई ढाकछोप गर्न खोज्नु भनेको हत्केलाले सूर्य छेक्न खोज्नुजस्तै हो,” उनले भने।
उनले नेपाली पत्रकारिताले विगतमा निरंकुश शासनकालमा समेत अनेक चुनौती सामना गर्दै आफ्नो भूमिका निर्वाह गरेको स्मरण गराउँदै दुई–चारवटा गाडी तेर्स्याएर स्वतन्त्र प्रेसलाई तर्साउन नसकिने बताए।
परियारले तत्कालीन शाही शासनकालमा सैनिकहरू समाचार कक्षमै प्रवेश गरेर समाचार सेन्सर गर्ने अवस्थासमेत नेपाली सञ्चारमाध्यमले सामना गरेको उल्लेख गर्दै, “त्यतिबेला नझुकेको नेपाली प्रेस आज यस्ता गतिविधिबाट डराउने छैन,” भने।
उनले सबै सञ्चारगृह र पत्रकारलाई निर्भय भएर काम गर्ने वातावरण सुनिश्चित गर्न गृह प्रशासन र सरकारलाई आवश्यक कदम चाल्न आग्रह गरेका छन्।




















