काठमाडौं । एसीसी यू–१९ महिला प्रिमियर कपमा नेपालले लगातार दोस्रो प्रभावशाली जित दर्ता गरेको छ। नेपालले हङकङलाई १८१ रनको विशाल अन्तरले पराजित गर्दै प्रतियोगितामा आफ्नो उत्कृष्ट लय कायम राखेको हो।
पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ओभरमा ६ विकेट गुमाउँदै २११ रनको विशाल योगफल तयार पारेको थियो। कप्तान सोनी पाख्रिनले ६० बलमा १३ चौका र १ छक्काको मद्दतमा अविजित ९० रनको उत्कृष्ट इनिङ्स खेलिन्।
ओपनर सावित्री धामीले ३६ बलमा ५२ रनको अर्धशतकीय योगदान दिँदा अलिसा कुमारी यादवले १२ बलमा २३ रनको आक्रामक इनिङ्स खेलिन्। हङकङका लागि निम्रा अरबले २ विकेट लिइन्।
२१२ रनको लक्ष्य पछ्याएको हङकङ नेपाली बलरहरूको दबाबमा पूरै निरीह बन्यो। सम्पूर्ण टोली ३० रनमै समेटिएपछि नेपालले १८१ रनको फराकिलो जित हात पार्यो।
हङकङका लागि वङ विङ किउ हेलीले सर्वाधिक १३ रन बनाइन् भने अन्य कुनै पनि ब्याटरले उल्लेखनीय योगदान दिन सकेनन्।
बलिङतर्फ पनि कप्तान सोनी पाख्रिन नै उत्कृष्ट रहिन्। उनले ४ ओभरमा केवल ४ रन खर्चेर ४ विकेट लिइन्। मनिषा उपाध्यायले २ विकेट हात पारिन्।
यसअघि नेपालले प्रतियोगिताको पहिलो खेलमा सिंगापुरलाई १५१ रनले हराएको थियो। लगातार दोस्रो जितसँगै नेपाल प्रतियोगितामा मजबुत अवस्थामा पुगेको छ।




















