काठमाडौं । नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले प्रतिपक्षको भूमिका प्रभावकारी बनाउन कांग्रेस प्रतिबद्ध रहेको भन्दै सदनमा उपस्थिति देखाउन कुनै ‘स्टन्ट’ नगर्ने बताएका छन्।
सोमबार सिंहदरबारमा सञ्चारकर्मीसँग कुराकानी गर्दै आङ्देम्बेले कांग्रेसले सदनमा इमानदारीपूर्वक जनताका आवाज उठाउँदै आएको र त्यसलाई आगामी दिनमा अझ सशक्त बनाउँदै लैजाने बताए।
उनले प्रतिपक्षको भूमिका प्रदर्शनका लागि कृत्रिम गतिविधि आवश्यक नरहेको उल्लेख गर्दै भने, “प्रतिपक्षको उपस्थिति देखाउन के स्टन्ट गर्नुपर्ने हो, त्यो थाहा छैन। हामीले इमानदारीपूर्वक जनताका आवाज उठाउने प्रयास गरिरहेका छौँ। बाहिर एउटा र भित्र अर्को कुरा गर्ने हाम्रो शैली होइन। बाहिर जे छौँ, सदनभित्र पनि त्यही छौँ।”
आङ्देम्बेले राष्ट्रका समसामयिक विषयदेखि जनजीवनसँग जोडिएका साना–ठूला सबै समस्यालाई कांग्रेसले सदनमा प्राथमिकताका साथ उठाउँदै आएको बताए। साथै, अहिलेसम्म सदनमा निर्वाह गरिएको भूमिकाको समीक्षा गर्दै आगामी रणनीति तय गरिने पनि उनले जानकारी दिए।
उनका अनुसार संसदीय दलभित्रका धारणा प्रमुख सचेतक र सचेतकमार्फत औपचारिक रूपमा प्रस्तुत हुने गरेका छन् भने अन्य सांसदहरूले पनि आ–आफ्नो जिम्मेवारीअनुसार संसद्मा आफ्ना विचार राखिरहेका छन्।




















