काठमाडौँ । लगातारको वर्षापछि आएको बाढी र पहिरोका कारण आज देशका विभिन्न स्थानका ८ वटा प्रमुख सडक पूर्ण रूपमा अवरुद्ध भएका छन्। साथै, दुईवटा सडकमा एकतर्फी रूपमा मात्रै सवारीसाधन सञ्चालन भइरहेको नेपाल प्रहरीले जनाएको छ।
इलाम नगरपालिका–९ राजदुवाली क्षेत्रमा पहिरो खस्दा मेची राजमार्गअन्तर्गत झापा–ताप्लेजुङ सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ। उक्त सडकमा यातायात रोकिएपछि सवारीसाधनलाई वैकल्पिक मार्गबाट सञ्चालन गरिएको प्रहरीले जनाएको छ।
यस्तै, सम्भावित बाढीको जोखिमका कारण बीपी राजमार्गमा पनि यातायात अवरुद्ध गरिएको छ।
मकवानपुरको भीमफेदी गाउँपालिका–८ भर्याङडाँडामा पहिरो खसेपछि कान्ती लोकपथ पूर्ण रूपमा बन्द भएको छ।
प्रहरीका अनुसार बाढी–पहिरोका कारण अरनिको राजमार्ग, पोखरा–ताङतिङ सडक, घोराही–रुकुम शहीद मार्ग, सालझण्डी–ढोरपाटन सडक तथा मदन भण्डारी राजमार्ग पनि पूर्ण रूपमा अवरुद्ध भएका छन्।
यता, भोजपुरस्थित मध्यपहाडी राजमार्ग र पाल्पाको सिद्धार्थ राजमार्गमा भने बाढी–पहिरोका कारण एकतर्फी रूपमा मात्रै सवारीसाधन सञ्चालन भइरहेको प्रहरीले जनाएको छ।
प्रहरीले अत्यावश्यक बाहेक जोखिमयुक्त सडकमा यात्रा नगर्न तथा यात्रा गर्नुअघि सम्बन्धित निकायबाट सडकको अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न सर्वसाधारणलाई आग्रह गरेको छ।
अवरुद्ध र एकतर्फी सडकको सूची





















