काठमाडौं । डुवानबाट बचाउन भन्दै सरकारले खोला किनारका हटाएका सुकुम्वासी मध्ये कतिपय होल्डिङ सेन्टरमा राखेको छ । तर अविरल वर्षाका कारण होल्डिङ सेन्टर नै डुवानमा परेर सुकुम्वासीको विजोक भएपछि सरकारको चर्को आलोचना भएको छ ।
यसैवीच डुबानमा परेको कीर्तिपुरस्थित राधास्वामी होल्डिङ सेन्टरबाट ३१ परिवारका ८९ जना सुकुमवासीलाई भक्तपुरको खरिपाटीस्थित होल्डिङ सेन्टरमा स्थानान्तरण गरिएको छ।
शनिबार र आइतबार बिहान गरी उक्त संख्यामा रहेका सुकुमवासीलाई खरिपाटी लगिएको हो। केही परिवारलाई भने भक्तपुरकै बोडे क्षेत्रमा पनि स्थानान्तरण गरिएको जनाइएको छ।
यसअघि सरकारले थापाथलीलगायत बागमती नदी किनारका सुकुमवासी बस्ती हटाएर उनीहरूलाई विभिन्न होल्डिङ सेन्टरमा राखेको थियो। तर, उनीहरूको दीर्घकालीन पुनर्स्थापना र उचित व्यवस्थापन भने अझै टुंगो लाग्न सकेको छैन।
कीर्तिपुरस्थित होल्डिङ सेन्टर डुबानमा परेपछि सुकुमवासीलाई सुरक्षित स्थानमा सार्ने काम गरिएको हो। यसबीच उनीहरूको स्थायी व्यवस्थापनको माग गर्दै विभिन्न पक्षबाट सरकारको आलोचना भइरहेको छ भने सुकुम्वासीहरुले व्यवस्थित र सुरक्षित पुनस्र्थापनाको माग गर्दै माइतीघरमा प्रदर्शन गरेका छन् ।




















