काठमाडौं । सुकुमवासीको उचित व्यवस्थापनको माग गर्दै संयुक्त राष्ट्रिय सुकुमवासी मोर्चाको आयोजनामा आइतबार काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरिएको छ।
प्रदर्शनमा सहभागी सुकुमवासी तथा सरोकारवालाहरूले सरकारले भूमिहीन तथा सुकुमवासी नागरिकको उचित व्यवस्थापन गर्न नसकेको आरोप लगाउँदै तत्काल सुरक्षित पुनर्स्थापना र दीर्घकालीन समाधानको व्यवस्था गर्न माग गरेका छन्।
उनीहरूले सुकुमवासीसँग सम्बन्धित आन्दोलनका क्रममा केही व्यक्तिलाई पक्राउ गरिएको भन्दै त्यसको विरोधसमेत गरेका छन्। प्रदर्शनकारीहरूले पक्राउ परेका सबैलाई बिना सर्त रिहा गर्न सरकारसँग माग गरेका छन्।
प्रदर्शनका क्रममा सहभागीहरूले सुकुमवासीको अधिकार सुनिश्चित गर्न, सम्मानजनक बसोबासको व्यवस्था गर्न तथा उनीहरूको मागप्रति सरकारले गम्भीर बन्नुपर्नेमा जोड दिएका थिए।




















