काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सुकुमवासी बस्ती हटाएर कीर्तिपुरस्थित होल्डिङ सेन्टरमा राखिएका नागरिकको अवस्थाप्रति गम्भीर असन्तुष्टि जनाउँदै प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)सँग सार्वजनिक रूपमा जवाफ मागेका छन्।
आइतबार सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै आङ्देम्बेले प्रधानमन्त्री बालेनले ज्यान जोखिममा रहेका नागरिकलाई सुरक्षित र व्यवस्थित स्थानान्तरण गर्ने सार्वजनिक प्रतिबद्धता जनाएको स्मरण गराउँदै अहिले देखिएको अवस्था त्यसको विपरीत रहेको बताएका छन्।
‘प्रधानमन्त्रीजीले ज्यान जोखिममा रहेका नागरिकलाई सुरक्षित स्थानमा व्यवस्थापन गर्ने प्रतिबद्धता गर्नुभएको थियो। आज म सोध्न चाहन्छु– त्यो प्रतिबद्धता कहाँ हरायो? के यही हो तपाईंले वाचा गर्नुभएको सुरक्षित र व्यवस्थित व्यवस्थापन?’ उनले लेखेका छन्।
कीर्तिपुरस्थित होल्डिङ सेन्टर नै डुबानमा परेपछि सरकारले सुकुमवासीलाई एउटा जोखिमबाट निकालेर अर्को अझ गम्भीर जोखिममा धकेलेको यथार्थ उजागर भएको आङ्देम्बेको भनाइ छ।
सुरक्षित आश्रयको आश्वासन पाएका सुकुमवासी अहिले भोक, पानी, हिलो, अभाव र असुरक्षाबीच कष्टपूर्ण जीवन बिताउन बाध्य भएको उल्लेख गर्दै उनले यसलाई राज्यको गैरजिम्मेवारी, संवेदनहीनता र सार्वजनिक प्रतिबद्धता पूरा गर्न नसकेको असफल शासनको उदाहरण भनेका छन्।
आङ्देम्बेले होल्डिङ सेन्टरमा पुगेर पीडितको अवस्था बुझ्न र सरकारसँग जवाफ माग्न खोज्ने युवाहरू, माजिद अन्सारीसहित, लाई नियन्त्रणमा लिइएको घटनाप्रति पनि आपत्ति जनाएका छन्। लोकतान्त्रिक व्यवस्थामा प्रश्न सोध्ने अधिकारमाथि अंकुश लगाउने प्रयास स्वीकार्य नहुने उनको भनाइ छ।
प्रधानमन्त्रीले आफ्नै प्रतिबद्धता पूरा गर्न नसकेको अवस्थामा आत्मसमीक्षा गर्नुको सट्टा प्रश्न गर्ने नागरिकमाथि दमन गर्नु लोकतन्त्र, अभिव्यक्ति स्वतन्त्रता र नागरिक अधिकारमाथिको आक्रमण भएको टिप्पणी पनि उनले गरेका छन्।
आङ्देम्बेले अन्त्यमा प्रधानमन्त्री बालेनलाई सुकुमवासी नागरिकसँग गरिएको वाचाबारे स्पष्ट जवाफ दिन आग्रह गर्दै इतिहासले भाषणभन्दा पनि जनतासँग गरिएका प्रतिबद्धता कार्यान्वयन भए वा भएनन् भन्ने आधारमा मूल्याङ्कन गर्ने बताएका छन्।



















