काठमाडौं । अमेरिका र इरानबीचको तनाव फेरि चर्किएको छ। अमेरिकाले शनिबार राति इरानका सैन्य संरचनामाथि व्यापक हवाई हमला गरेपछि इरानले हर्मुज जलमार्ग अनिश्चितकालका लागि बन्द गर्ने घोषणा गरेको छ।
अमेरिकी केन्द्रीय कमान्ड (सेन्टकम)का अनुसार इरानले साइप्रसको झन्डा बोकेको एक कन्टेनर जहाजमाथि आक्रमण गरेपछि जवाफी कारबाहीस्वरूप इरानका करिब १४० सैन्य प्रतिष्ठानलाई लक्षित गरी हवाई हमला गरिएको हो।
सेन्टकमले आक्रमणमा परेको जहाजमा आगलागी भएको, इन्जिनमा गम्भीर क्षति पुगेको तथा चालक दलका एक सदस्य बेपत्ता भएको जनाएको छ।
इरानले भने अनधिकृत रूपमा जहाजहरू आफ्नो समुद्री क्षेत्रमा प्रवेश गर्न थालेपछि हर्मुज जलमार्ग अनिश्चितकालका लागि बन्द गरिएको दाबी गरेको छ।
सेन्टकमले सामाजिक सञ्जाल एक्समार्फत जारी विज्ञप्तिमा व्यावसायिक जहाजमाथि यसअघि भएको आक्रमणपछि इरानलाई सम्झौता पालना गर्ने अवसर दिइएको भए पनि त्यसको पालना नभएकाले सैन्य कारबाही गर्नुपरेको उल्लेख गरेको छ।
अमेरिकी रक्षामन्त्री पिट हेगसेथले पनि सेन्टकमको विज्ञप्ति साझा गर्दै इरानले “गलत निर्णय” गरेको र त्यसको “मूल्य चुकाउनुपर्ने” टिप्पणी गरेका छन्।
यता इरानको सरकारी टेलिभिजन आईआरआईबीले बदलास्वरूप इरानले कुवेत र बहराइनस्थित अमेरिकी सैन्य अड्डाहरूमा ड्रोन आक्रमण गरेको दाबी गरेको छ। तर, अमेरिका, कुवेत र बहराइनले भने उक्त दाबीको स्वतन्त्र पुष्टि गरेका छैनन्।
यसअघि साताको सुरुवातमा इरानले हर्मुज क्षेत्रमा तीन वटा व्यावसायिक तेल ट्यांकरमाथि आक्रमण गरेको घटनापछि दुई देशबीच सैन्य तनाव थप बढ्दै गएको छ।




















