काठमाडौं । जनपक्षीय ट्रेड युनियन महासंघले गणेश नेपालीको आत्मदाहपछि भएको मृत्युको घटनालाई लिएर शनिबार काठमाडौंको माइतीघर मण्डलामा सरकारविरुद्ध प्रदर्शन गरेको छ।
प्रदर्शनका क्रममा महासंघले गणेश नेपालीलाई आत्मदाह गर्न बाध्य बनाउने परिस्थिति राज्यले सिर्जना गरेको आरोप लगाउँदै सरकारको विरोध गरेको हो।
आन्दोलनमा सहभागीहरूले ‘युवालाई आत्मदाह गर्ने स्थितिमा कसले पुर्यायो ?’ लेखिएको ब्यानर प्रदर्शन गरेका थिए। उनीहरूले वर्तमान सरकारलाई ‘श्री ३ सरकार’को संज्ञासमेत दिएका थिए।
प्रदर्शनकारीहरूले ‘युवालाई आत्मदाह गर्ने बाध्यता होइन, रोजगार देऊ’, ‘गणेश नेपालीको हत्यारा सरकार–मुर्दावाद’, ‘युवालाई आत्मदाह गर्ने स्थितिमा कसले पुर्यायो ?’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेर विरोध जनाएका थिए। साथै केही प्लेकार्डमा ‘बालेन, रवि, स्वर्णिम बराबर ओली, देउवा, प्रचण्ड’ तथा ‘श्री ३ बालेन, रवि, स्वर्णिम सरकार’ जस्ता राजनीतिक सन्देश पनि उल्लेख गरिएको थियो।
प्रदर्शनका क्रममा सहभागीहरूले युवामा बढ्दो निराशा, बेरोजगारी र सामाजिक असुरक्षाका विषयमा सरकारको ध्यानाकर्षण गराउँदै प्रभावकारी समाधानको माग गरेका थिए ।




















