काठमाडौं । राहदानी विभाग अगाडि आत्मदाहको प्रयास गरेका युवा गणेश नेपालीको निधन भएपछि आफन्तजन लगायतले वीर अस्पतालमा प्रदर्शन गरेका छन् । राज्यका कारण नेपालीको मृत्यु भएको भन्दै उनीहरुले वीर अस्पतालमा प्रदर्शन गरेका हुन् । शुक्रबार बिहान अस्पतालले नेपालीलाई मृत्यु भएको घोषणा गरेपछि आफन्तजन, शुभेच्छुक तथा युवाहरु वीर अस्पताल पुगेका थिए ।
हत्यारा सरकार मुर्दावाद लेखिएको प्लेकार्ड देखाउँदै युवाहरुले अस्पताल परिसरभित्र प्रदर्शन गरेका हुन् । उनीहरुले नेपालीको निधन भएको खवर ढिला मात्रै जानकारी गराएको भन्दै आक्रोश व्यक्त गरेका थिए ।
नेपालीका आफन्तजनहरुले राज्यका कारण आत्मदाह गर्ने अवस्था आएको भन्दै सरकारले परिवारको हेरचाहको जिम्मेवारी नलिँदासम्म आफूहरुले शव नबुझ्ने जनाएका छन् । आफ्नो मोटरसाइकलमा काठमाडौं महानगरका नगर प्रहरीले ह्वील लक गरेको बिषयमा विवाद हुँदा नेपालीले पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका थिए । आगोका कारण गम्भीर घाइते भएका नेपालीको शुक्रबार बिहान उपचारका क्रममा वीर अस्प्तालमा निधन भएको हो ।




















