काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले सरकारले गठन गरेको संविधान संशोधनसम्बन्धी बहसपत्र तयार गर्ने कार्यदलबाट आफ्नो प्रतिनिधि फिर्ता बोलाएको छ।
एमालेका महासचिव शंकर पोखरेलले बिहीबार कार्यदललाई पत्र पठाउँदै पार्टीका तर्फबाट सहभागी प्रतिनिधिलाई औपचारिक रूपमा फिर्ता बोलाइएको जानकारी दिएका हुन्।
महासचिव पोखरेलले पठाएको पत्रमा पार्टीले अघि सारेका प्रस्तावबारे सरकारले अहिलेसम्म स्पष्ट जवाफ नदिएको उल्लेख गर्दै त्यसै कारण प्रतिनिधि फिर्ता बोलाइएको जनाइएको छ। पत्रमा भनिएको छ, “आजका दिनसम्म पनि हाम्रो पार्टीको प्रस्तावअनुसार सरकारका तर्फबाट कुनै स्पष्ट जवाफ नआएको सन्दर्भमा औपचारिक रूपमा पार्टी प्रतिनिधिलाई फिर्ता बोलाइएको जानकारी गराउँदछु।”
कार्यदलमा एमालेले डा. भीष्म अधिकारीलाई प्रतिनिधिका रूपमा पठाएको थियो। अधिकारी कार्यदलको प्रारम्भिक बैठकमा सहभागी भए पनि पछिल्ला बैठकहरूमा भने एमालेको सहभागिता रहेको थिएन।
कार्यदलको कार्यशैली र कामकारबाहीप्रति असन्तुष्टि जनाउँदै एमालेले त्यसको प्रक्रिया नै सन्देहास्पद रहेको टिप्पणी गर्दै आएको थियो।
यसअघि नै नेपाली कांग्रेसले पनि कार्यदलबाट बाहिरिने निर्णय गरिसकेको छ। त्यसैगरी नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०, राष्ट्रिय जनमोर्चा लगायतका दलले पनि कार्यदलबाट आफ्नो सहभागिता फिर्ता लिइसकेका छन्।
त्यस्तै लोसपा, जसपाले पनि राष्ट्रिय सहमति कायम नगरी संविधान संशोधन प्रक्रिया अघि नबढाउन सरकारसँग माग गरेका छन्। उनीहरुले आफ्ना धारणा सम्बोधन नभए संविधान संशोधनसम्बन्धी बहसपत्र तयार गर्ने कार्यदलमा सहभागी नहुने चेतावनी पनि दिएका छन् ।




















