काठमाडौं । प्रतिनिधिसभाको बैठकमा बिहीबार पनि विपक्षी दलहरूले विरोध जनाएका छन्। प्रधानमन्त्री बालेन्द्र शाहले सीमा विवादबारे दिएको अभिव्यक्तिलाई लिएर विपक्षी दलहरूले लगातार विरोध जारी राखेका हुन्।
बैठक सुरु भएको घोषणा लगत्तै विपक्षी दलका सांसदहरू आ–आफ्नो स्थानबाट उठेर विरोधमा उत्रिएका थिए। त्यसपछि सभामुख डोलप्रसाद अर्यालले लामो समयदेखि एउटै विषयमा विरोध भइरहेको उल्लेख गर्दै विपक्षी दलका तर्फबाट एक जना सांसदले धारणा राखेर बैठकको कार्यसूची अगाडि बढाउन प्रस्ताव गरेका थिए।
सभामुखको प्रस्तावअनुसार नेपाली कांग्रेसकी सांसद हरिनादेवी कामी लाई बोल्ने समय दिइएको थियो। उनले प्रधानमन्त्री बालेन्द्र शाहले सीमा विवादसम्बन्धी दिएको अभिव्यक्तिबारे संसद्मै स्पष्ट जवाफ दिनुपर्ने माग गरिन्।
उनले संसद्मा उठेको विषयको जवाफ पनि संसद्कै रोष्ट्रमबाट दिनुपर्ने बताउँदै प्रधानमन्त्रीले आफ्नो अभिव्यक्तिको तथ्य पुष्टि गर्नुपर्ने, अन्यथा माफी माग्नुपर्ने विपक्षीको अडान दोहोर्याइन्।
प्रधानमन्त्री बालेन्द्र शाहले गत जेठ १७ गते प्रतिनिधिसभामा सांसदहरूको प्रश्नको जवाफ दिने क्रममा नेपाल र भारतबीचको सीमा सम्बन्धी अभिव्यक्ति दिएका थिए। त्यसयता विपक्षी दलहरूले उक्त भनाइको तथ्यगत आधार माग्दै निरन्तर संसद् अवरोध गर्दै आएका छन्।
यसैबीच सभामुख अर्यालले विपक्षी दलहरूलाई विरोध गर्ने शैली परिवर्तन गर्न पनि आग्रह गरे। एउटै विषयमा सबै सांसदले पटक–पटक बोल्दा संसद्को समय व्यवस्थापन र कार्य सञ्चालनमा समस्या भएको उल्लेख गर्दै उनले विरोधको विषयमै केन्द्रित भएर संक्षिप्त रूपमा धारणा राख्न अनुरोध गरे।
‘जुन विषयवस्तुका लागि विरोध सुरु गरिएको हो, त्यहीभित्र रहेर आफ्ना भनाइ राख्दा त्यसको औचित्य पनि पुष्टि हुन्छ,’ सभामुख अर्यालले बैठकमा भने।
उनले विपक्षी दलको तर्फबाट एक जना सांसदले धारणा राखिसकेको भन्दै दैनिक कार्यसूचीमा प्रवेश गर्न पुनः आग्रह गरे। तर विपक्षी दलहरूले सभामुखको प्रस्ताव स्वीकार नगरी आफ्नो विरोधलाई निरन्तरता दिएका छन्।




















