काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले सुकुम्बासीको व्यवस्थापन प्रभावकारी ढंगले हुन नसकेको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ।
प्रतिनिधिसभाको बिहीबारको बैठकमा एमालेका तर्फबाट बोल्दै सांसद एशुदा कुमारी बरालले सुकुम्बासी नागरिकको अधिकार र उनीहरूको पुनःस्थापनाको विषयमा सरकारसँग जवाफ मागिन्।
उनले सुकुम्बासी पनि यही देशका नागरिक भएकाले उनीहरूले सम्मानपूर्वक बाँच्न पाउने अधिकार सुनिश्चित हुनुपर्ने बताइन्। “सुकुम्बासी जनता हुन् कि होइनन्? उहाँहरूले बाँच्न पाउने कि नपाउने?” भन्दै उनले सरकारसमक्ष प्रश्न उठाइन्।
बरालले सुकुम्बासीलाई २५ हजार रुपैयाँ दिएर आफ्नो व्यवस्थापन आफैँ गर्न भन्नु व्यावहारिक समाधान नभएको टिप्पणी गरिन्।
‘२५ हजार रुपैयाँ हातमा थमाएर सडकमा धपाउँदा के त्यो मानव अधिकारको उल्लंघन हुँदैन? उहाँहरूले स्वतन्त्र र सम्मानपूर्वक बाँच्न पाउने अधिकार छ कि छैन?’ भन्दै उनले सरकारलाई संवेदनशील बन्न आग्रह गरिन्।
सांसद बरालले गरिब तथा सुकुम्बासीको पीडाप्रति राज्य गम्भीर बन्नुपर्ने उल्लेख गर्दै चेतावनी दिइन्, ‘यी गरिबका आँसु निकै महँगो हुनेछन्।’ उनले सुकुम्बासी व्यवस्थापनका विषयमा सरकार र सम्बन्धित निकायले तत्काल आवश्यक पहल गर्नुपर्नेमा जोड दिइन्।




















