काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक, पूर्वऊर्जामन्त्री तथा उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले नेपाल विद्युत् प्राधिकरणलाई लामो समयसम्म नेतृत्वविहीन अवस्थामा राखेर विद्युत् आपूर्तिमा देखिएका समस्याको समाधान खोज्नु सरकारको अदूरदर्शिता भएको टिप्पणी गरेका छन्।
पछिल्ला दिनमा देशका विभिन्न स्थानमा झ्याप्प–झ्याप्प विद्युत् जाने गुनासो बढिरहेका बेला घिसिङले बिहीबार सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै वर्षायाममा प्राविधिक कारणले कहिलेकाहीँ विद्युत् अवरुद्ध हुनु ऊर्जा प्रणालीको स्वाभाविक चुनौती भए पनि त्यसलाई देशमा विद्युत् उत्पादनको अभाव वा सम्पूर्ण प्रणाली असफल भएको रूपमा बुझ्न नहुने बताएका छन्।
उनले यस्ता प्राविधिक चुनौतीलाई तत्काल सम्बोधन गर्न सक्षम, अनुभवी र निर्णय गर्न सक्ने नेतृत्व आवश्यक पर्ने उल्लेख गर्दै नेपाल विद्युत् प्राधिकरण लामो समयदेखि कायममुकायमको भरमा सञ्चालन भइरहेको अवस्था चिन्ताजनक भएको बताएका छन्।
घिसिङले संस्थालाई सक्षम नेतृत्व दिन सरकारले कुनै तदारुकता नदेखाएको, तर समस्या देखिएपछि मन्त्रालयबाट समिति गठन गरेर जिम्मेवारीबाट पन्छिन खोजिएको आरोप लगाएका छन्। उनका अनुसार समिति बनाएर विद्युत् प्रणाली सञ्चालन नहुने र प्रभावकारी निर्णय गर्न सक्ने नेतृत्व अपरिहार्य हुने बताएका छन्।
उनले प्रशासनिक अन्योल, निर्णय प्रक्रियामा हुने ढिलाइ र राजनीतिक हस्तक्षेपको असर अन्ततः सर्वसाधारणले भोग्नुपरेको उल्लेख गर्दै ऊर्जा क्षेत्रलाई राजनीतिक प्रयोगशाला बनाउन नहुने धारणा व्यक्त गरेका छन्। ऊर्जा क्षेत्र देशको अर्थतन्त्र, उद्योग, सेवा र जनजीवनसँग प्रत्यक्ष जोडिएको संवेदनशील क्षेत्र भएकाले नेतृत्व अभावले कर्मचारीको मनोबलदेखि दीर्घकालीन योजनाको कार्यान्वयनसम्म असर पर्ने उनको भनाइ छ।
घिसिङले सरकारले ऊर्जा सुरक्षालाई प्राथमिकतामा राख्ने हो भने नेपाल विद्युत् प्राधिकरणमा तत्काल पूर्णकालीन, सक्षम र स्वायत्त नेतृत्व नियुक्त गर्नुपर्नेमा जोड दिएका छन्। अन्यथा अहिले देखिएको झ्याप्प–झ्याप्प बत्ती जाने समस्या भविष्यमा गम्भीर संस्थागत संकटमा रूपान्तरण हुन सक्ने उनको चेतावनी छ।
उनले नेतृत्व नियुक्तिसँगै निर्माणाधीन प्रसारण तथा वितरण प्रणाली शीघ्र सम्पन्न गरी सञ्चालनमा ल्याउने, विद्युत् प्रणालीको आधुनिकीकरण गर्ने, नियमित मर्मत–सम्भारलाई प्रभावकारी बनाउने, प्रणालीको विश्वसनीयता अभिवृद्धि गर्ने तथा आपत्कालीन प्रतिक्रिया प्रणालीलाई थप सुदृढ बनाउनुपर्ने आवश्यकता पनि औँल्याएका छन्।
‘समस्या कहाँ छ भन्ने देशले देखिरहेको छ, अब समाधान गर्ने जिम्मेवारी सरकारकै हो,’ घिसिङले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको प्रतिक्रियामा उल्लेख गरेका छन्।




















