काठमाडौं । काठमाडौं उपत्यकाबाट विस्थापित सुकुमवासीहरूले आफ्नो मानव अधिकार उल्लंघन भएको भन्दै राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी दिएका छन्।
राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले बुधबार प्रतिनिधिसभाअन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा विस्थापनपछिको अवस्थाबारे समेत आयोगमा उजुरी परेको जानकारी दिए।
‘विस्थापित भएपछि उनीहरूले भोग्नुपरेको अवस्थाबारे पनि उजुरी आएको छ,’ अध्यक्ष मगरले भने। उनले सुकुमवासी व्यवस्थापनका विषयमा आयोगले यसअघि नै सरकारलाई सिफारिस गरिसकेको स्मरण गराउँदै, ‘सुकुमवासी हटाउन सकिन्छ, तर त्यसअघि उचित व्यवस्थापन हुनुपर्छ भन्ने आयोगको स्पष्ट सिफारिस थियो। अहिले पनि सोही विषयमा उजुरी आइरहेको छ,’ भने।
सरकारले काठमाडौं उपत्यकाबाट हटाइएका सुकुमवासीलाई होल्डिङ सेन्टरमा राखेको र त्यहाँको अवस्थासम्बन्धी गुनासोसमेत आयोगमा पुगेको अध्यक्ष मगरले जानकारी दिए।
बैठकमा आयोगका सदस्य मिहिर ठाकुरले आयोगका सिफारिस कार्यान्वयन नहुँदा समस्या झन् गम्भीर बन्दै गएको बताए।
‘आयोगका सिफारिसहरू कार्यान्वयन हुने अवस्था निकै कमजोर छ। हामी आएयता भएका सिफारिसमध्ये एउटा पनि कार्यान्वयन भएको छैन,’ उनले भने, ‘आयोगका सुझाव कार्यान्वयन नहुँदा यस्ता समस्या दोहोरिइरहेका छन्।’




















