काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई) सरकारले ईद अल–अधा २०२६ को अवसरमा १११ जना नेपाली नागरिकलाई आममाफी दिएको छ। नेपाल सरकारले उक्त निर्णयको स्वागत गर्दै यूएई सरकारप्रति आभार व्यक्त गरेको छ।
परराष्ट्र मन्त्रालयले मंगलबार जारी गरेको विज्ञप्तिअनुसार मन्त्रालयको निर्देशनमा अबुधाबीस्थित नेपाली दूतावासले गरेको अनुरोधका आधारमा यूएई सरकारले १११ नेपाली कैदीलाई आममाफी दिने निर्णय गरेको हो।
मन्त्रालयका अनुसार आममाफी प्राप्त गरेका नेपाली नागरिकमाथि अन्य कुनै कानुनी मुद्दा वा यात्रा प्रतिबन्ध नरहेको अवस्थामा यूएईको प्रचलित कानुनअनुसार आवश्यक कानुनी तथा प्रशासनिक प्रक्रिया पूरा गरेपछि उनीहरू नेपाल फर्कन सक्नेछन्।
परराष्ट्र मन्त्रालयले नेपाल–यूएईबीचको मैत्रीपूर्ण र सौहार्दपूर्ण द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ बनाउने दिशामा यो निर्णय महत्वपूर्ण रहेको उल्लेख गरेको छ। मन्त्रालयले आममाफीलाई दुई देशबीचको आपसी सद्भाव र सहयोगको प्रतीकका रूपमा समेत व्याख्या गरेको छ।




















