काठमाडौं । चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा डा. देवेन्द्र खत्री नियुक्त भएका छन्।
प्रधानमन्त्री तथा आयोगका अध्यक्ष बालेन शाहले डा. खत्रीलाई आयोगको उपाध्यक्षमा नियुक्त गरेका हुन्। नवनियुक्त उपाध्यक्षलाई मंगलबार शिक्षा तथा खेलकुद मन्त्री एवं आयोगका सहअध्यक्ष सस्मित पोखरेलले मन्त्रालयमा आयोजित कार्यक्रममा नियुक्तिपत्र प्रदान गरे।
आयोगमा उपाध्यक्ष पद लामो समयदेखि रिक्त रहेपछि अर्को व्यवस्था नभएसम्म पूर्व उपाध्यक्ष श्रीकृष्ण गिरीलाई कार्यवाहक उपाध्यक्षको जिम्मेवारी दिइएको थियो। डा. खत्रीको नियुक्तिसँगै आयोगले अब नियमित नेतृत्व पाएको छ।
चिकित्सा शिक्षा क्षेत्रको नीति कार्यान्वयन, नियमन तथा समन्वयमा आयोगको महत्वपूर्ण भूमिका रहने भएकाले नयाँ उपाध्यक्षको नियुक्तिलाई अर्थपूर्ण रूपमा हेरिएको छ।




















