काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङदेम्बेले प्रधानमन्त्री बालेन्द्र शाह र मन्त्रीहरूको सम्पत्तिमा उल्लेख गरिएको सुनको स्रोतबारे संसद्मा प्रश्न उठाएका छन्।
सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै आङदेम्बेले सरकारले सय दिनका उपलब्धिमध्ये सम्पत्ति छानबिन आयोग गठन गरी अनुसन्धान सुरु गरेको दाबी गरेको स्मरण गराउँदै त्यसको सुरुवात सत्ता पक्षबाटै हुनुपर्ने बताए।
उनले प्रधानमन्त्रीको सम्पत्ति विवरणमा झन्डै दुई सय तोला सुन देखिएको उल्लेख गर्दै मन्त्रीहरूको सम्पत्ति विवरणमा पनि उल्लेख्य मात्रामा सुन रहेको बताए।
‘प्रधानमन्त्रीको सम्पत्ति विवरणमा झन्डै दुई सय तोला सुन देखिन्छ। मन्त्रीहरूको विवरणमा पनि सुन छ। त्यो सुन कहाँबाट आयो? त्यसको स्रोत के हो? जनताले जान्न पाउनुपर्छ,’ आङदेम्बेले भने।
पूर्वी नेपालका नागरिकहरूले पनि यही प्रश्न गरिरहेको उल्लेख गर्दै उनले जनतामा सुनको स्रोतबारे चासो बढेको बताए।
‘गाउँघरमा मानिसहरूले सोधिरहेका छन्– यति धेरै सुन कहाँबाट आयो? त्यसको स्रोत के हो?’ उनले भने।
आङदेम्बेले सम्पत्ति छानबिन प्रतिपक्षबाट मात्र नभई सबै राजनीतिक नेतृत्वबाट समान रूपमा सुरु गर्नुपर्ने धारणा राखे।
‘छानबिन मबाटै सुरु गरौँ। प्रमुख प्रतिपक्ष दलको नेताको रूपमा म आफ्नो सम्पत्ति छानबिनका लागि तयार छु। सत्ता पक्षका नेता प्रधानमन्त्रीबाट पनि छानबिन सुरु गरौँ। म तयार छु, प्रधानमन्त्री तयार हुनुहुन्छ?’ उनले प्रश्न गरे ।




















