काठमाडौं । एक खेलाडी कम भएर पनि इंग्ल्यान्डले उत्कृष्ट पुनरागमन गर्दै सहआयोजक मेक्सिकोलाई ३–२ ले पराजित गरेको छ। गोल, पेनाल्टी, भिडियो सहायक रेफ्री (भिएआर) को निर्णय र रातो कार्डले भरिएको रोमाञ्चक प्रतिस्पर्धामा इंग्ल्यान्ड विजयी हुँदै फिफा विश्वकप २०२६ को क्वाटरफाइनलमा पुगेको हो।
सोमबार बिहान मेक्सिको सिटीस्थित अज्टेका स्टेडियममा भएको अन्तिम १६ को खेलमा इंग्ल्यान्डका लागि जुड बेलिङहमले दुई गोल गरे भने कप्तान ह्यारी केनले एक गोल थपे।
मेक्सिकोका लागि जुलियन क्विनोनेस र राउल जिमिनेजले समान एक–एक गोल गरे पनि टोलीलाई हारबाट जोगाउन सकेनन्।
यो जितसँगै इंग्ल्यान्डले क्वाटरफाइनलमा स्थान सुरक्षित गरेको छ। अब इंग्ल्यान्डले सेमिफाइनल प्रवेशका लागि नर्वेसँग प्रतिस्पर्धा गर्नेछ।
समूह चरणदेखि राउन्ड अफ ३२ सम्म शतप्रतिशत जित निकाल्दै एक गोल पनि नखाएको घरेलु टोली मेक्सिको भने आफ्नै समर्थकमाझ अन्तिम १६ बाटै बाहिरिएको छ। यससँगै मेक्सिको विश्वकप २०२६ बाट बाहिरिने दोस्रो सहआयोजक टोली बनेको छ। यसअघि अर्को सहआयोजक क्यानडा पनि अन्तिम १६ बाटै बाहिरिसकेको थियो।




















