कैलाली। सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधित्व गर्ने १० ओलम्पियन खेलाडीलाई धनगढीमा नगदसहित सम्मान गरिएको छ।
सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्ले आज (आइतबार) एक कार्यक्रम आयोजना गरी खेलका माध्यमबाट सुदूरपश्चिमको पहिचान स्थापित गराउन योगदान पुर्याउने १० ओलम्पियनलाई नगदसहित सम्मान गरेको हो।
परिषद्ले सबैलाई जनही ७० हजार रुपैयाँसहित दोसल्ला र प्रशंसापत्रले सम्मान गरेको हो। बक्सिङका विष्णुबहादुर सिंह, बक्सिङकै डम्मरदत्त भट्ट, तेक्वान्दोका दीपक विष्ट, भारोत्तोलनका भरतबहादुर साउद, पौडीकी गौरीका सिंह, एथलेटिक्सकी सरस्वती भट्टराई, तेक्वान्दोकी निशा रावल, ब्याडमिन्टनका प्रिन्स दाहाल, पारा एथलेटिक्सका विक्रमबहादुर राना र पारा तेक्वान्दोका भरतसिंह महतालाई सम्मान गरिएको हो।
उनीहरूलाई सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री बेलबहादुर राना र परिषद्का सदस्य-सचिव लोकबहादुर खड्काले दोसल्ला, प्रशंसापत्र र नगदसहित सम्मान गरे।




















