काठमाडौं । आफूलाई प्रहरी सहायक निरीक्षक (असई) भन्दै सर्वसाधारणलाई ठगी गरेको आरोपमा एक महिला पक्राउ परेकी छन्।
पक्राउ पर्नेमा इलाम नगरपालिका–१० की ३३ वर्षीया दीपिका बोहोरा (तामाङ) रहेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।
कार्यालयका अनुसार उनले आफू प्रहरीको असई भएको दाबी गर्दै असईको बर्दीसमेत लगाउने गरेकी थिइन्। बर्दी लगाएको तस्बिर देखाएर विभिन्न आश्वासन दिँदै उनले पीडितबाट ई–सेवा र मोबाइल बैंकिङ एपमार्फत पटक–पटक गरी १५ लाख ५० हजार रुपैयाँ ठगी गरेको आरोप छ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक (एसपी) शरदकुमार थापा क्षेत्रीका अनुसार आरोपित महिलाले प्रहरीको परिचय दुरुपयोग गर्दै विभिन्न प्रलोभनमा पारेर रकम असुलेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
गोंगबुबाट पक्राउ परेकी बोहोरालाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको प्रहरीले जनाएको छ।




















