काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले नेपालको शिक्षा क्षेत्रमा सबैभन्दा ठूलो समस्या दलीयकरण भएको बताएका छन्।
पार्टी कार्यालयमा आयोजित एक कार्यक्रममा बोल्दै उनले शिक्षामा राजनीति भएको भन्ने चर्चा हुने गरे पनि वास्तविक समस्या दलीयकरण रहेको उल्लेख गरे। विद्यालय व्यवस्थापन समिति, प्रधानाध्यापकदेखि शिक्षक नियुक्तिसम्म आफ्ना दलनिकट व्यक्तिलाई राख्ने प्रवृत्तिले शिक्षा क्षेत्रलाई कमजोर बनाएको उनको भनाइ थियो।
‘शिक्षामा राजनीति भयो भन्छौँ। तर, वास्तविकता शिक्षामा दलीयकरण भयो। व्यवस्थापन समितिमा पनि आफ्नै मान्छे चाहिने, प्रधानाध्यापक पनि आफ्नै मान्छे र शिक्षक पनि हाम्रो मान्छे हुनुपर्छ भन्ने मानसिकताबाट अब बाहिर निस्कनुपर्छ। त्यो राजनीति होइन, दलीयकरण हो,’ थापाले भने।
उनले विभिन्न राजनीतिक दलसँग आबद्ध हजारौँ शिक्षकले समुन्नत नेपाल निर्माणमा आफ्नो ठाउँबाट महत्वपूर्ण योगदान दिन सक्ने विश्वास व्यक्त गरे।
कांग्रेस सभापति थापाले शिक्षक सङ्घमा आबद्ध शिक्षकहरूलाई विद्यालयमा आफ्नो जिम्मेवारी इमानदारीपूर्वक निर्वाह गर्न आग्रह गर्दै त्यसले नै नेपाली कांग्रेसलाई सबैभन्दा ठूलो योगदान पुग्ने बताए।
‘आज कांग्रेस सभापतिका रूपमा शिक्षक सङ्घमा आबद्ध शिक्षकहरूलाई मेरो आग्रह छ– विद्यालयमा आफ्नो भूमिका सही ढङ्गले निर्वाह गर्नुस्। त्योभन्दा ठूलो गुण नेपाली कांग्रेसलाई अरू केही हुन सक्दैन,’ उनले भने।




















