काठमाडौँ । नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आफू निकट नेताहरूको बैठक बोलाएका छन्। बैठक शुक्रबार दिउँसो २ बजे गल्फुटारस्थित खड्का निवासमा बस्ने तय भएको छ।
बैठकमा पार्टीको इतर पक्षका शीर्ष नेताहरू सहभागी हुनेछन्। बैठकमा हालै सम्पन्न प्रदेशस्तरीय भेलाको समीक्षा, संस्थापन पक्षसँग भएको संवादको अवस्थाबारे ब्रिफिङ तथा आगामी रणनीतिबारे छलफल हुने बताइएको छ।
इतर पक्षले पार्टीको १५औँ महाधिवेशनको समानान्तर तयारीलाई तीव्र बनाउने उद्देश्यले चुनदेवीमा सम्पर्क कार्यालय स्थापना गरिसकेको छ। पार्टी संस्थापन पक्षले आगामी १६ देखि १९ असोजसम्म केन्द्रीय महाधिवेशन गर्ने तयारी गरिरहेका बेला इतर समूहले छुट्टै सम्पर्क कार्यालय सञ्चालन गर्दै आफ्नै ढंगले महाधिवेशनको गृहकार्य अघि बढाएको हो।
इतर पक्षका नेताहरूका अनुसार संस्थापन पक्षसँग सार्थक संवाद हुन नसकेपछि राष्ट्रिय भेला बोलाउने तयारीसमेत भइरहेको छ। आजको बैठकले आगामी राजनीतिक रणनीति र संगठनात्मक कदमबारे थप निर्णय गर्ने अपेक्षा गरिएको छ।




















