काठमाडौँ । सरकारले चितवनस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको अध्यक्षमा वरिष्ठ चिकित्सक डा. योगेन्द्रप्रसाद सिंहलाई नियुक्त गरेको छ।
नियुक्तिपछि डा. सिंहले आज स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताबाट पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। शपथसँगै उनले अस्पतालको अध्यक्षको जिम्मेवारी औपचारिक रूपमा सम्हालेका छन्।
अध्यक्ष पदका लागि प्राप्त आवेदनमध्ये छनोट समितिले डा. योगेन्द्रप्रसाद सिंह, डा. अजयकुमार झा र डा. विजयचन्द्र आचार्यको नाम अन्तिम सिफारिसमा पठाएको थियो। सरकारद्वारा सिफारिस गरिएका तीन उम्मेदवारमध्येबाट डा. सिंहलाई अध्यक्षमा नियुक्त गरिएको हो।
त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा करिब ४६ वर्ष लामो सेवा अवधि पूरा गरी अवकाश प्राप्त डा. सिंह स्वास्थ्य क्षेत्रका अनुभवी तथा वरिष्ठ चिकित्सकमध्ये एक मानिन्छन्। उनको नियुक्तिसँगै क्यान्सर अस्पतालको नेतृत्वमा नयाँ जिम्मेवारी र व्यवस्थापकीय अपेक्षाहरू थपिएको छ।




















