काठमाडौँ । मेलम्ची खानेपानी आयोजनाको मुहान क्षेत्रमा बाढी पसेर पानी अत्यधिक धमिलो बनेपछि काठमाडौँ उपत्यकामा हुँदै आएको मेलम्चीको खानेपानी आपूर्ति आजदेखि अस्थायी रूपमा बन्द गरिएको छ।
काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) का प्रवक्ता वीरबहादुर चन्दका अनुसार मुहानमा पानीको गुणस्तर प्रभावित भएपछि प्रशोधन प्रक्रिया सञ्चालन गर्न कठिनाइ उत्पन्न भएको हो।
यससँगै मेलम्चीबाट सुन्दरीजलस्थित प्रशोधन केन्द्रमा प्रवाह हुने पानीको आपूर्ति रोकिएको उनले बताए।
‘वर्षाका कारण मुहानमा पानी अत्यधिक धमिलो भएको छ। गुणस्तरमा सुधार आएपछि पुनः प्रशोधन प्रक्रिया सञ्चालन गरी पूर्वनिर्धारित तालिकाअनुसार पानी वितरण गरिनेछ,’ प्रवक्ता चन्दले भने।
उनका अनुसार निरन्तर वर्षा भइरहेमा काठमाडौँमा नियमित पानी आपूर्ति पुनः सञ्चालन गर्न केही समय लाग्न सक्छ।
मेलम्ची खानेपानी आयोजनाले हरेक वर्ष मनसुनका बेला मुहानमा पानी धमिलो हुने तथा बाढीको जोखिम बढ्ने भएकाले केही समयका लागि पानी आपूर्ति रोक्दै आएको छ।




















