काठमाडौं । प्रतिनिधिसभामा निरन्तर उठाइएका विषयमा सरकारले गम्भीरता नदेखाएको भन्दै विपक्षी दलका सांसदहरूले विरोध जनाएका छन्।
बिहीबार प्रतिनिधिसभाको बैठक सुरु हुनासाथ विपक्षी सांसदहरूले सीमा विवादलगायत आफूहरूले यसअघि उठाएका विभिन्न विषयमा सरकारले कुनै चासो नदिएको भन्दै उठेर विरोध जनाएका हुन्।
विपक्षी सांसदहरूको विरोधपछि सभामुख डोलप्रसाद अर्यालले नेपाली कांग्रेसका सांसद खड्कबहादुर बुढालाई बोल्न समय दिएका थिए।
सांसद बुढाले सरकारले कानुनी शासन र सुशासनको धज्जी उडाएको आरोप लगाए। उनले राहदानी छपाइ खरिद प्रक्रियामा आर्थिक अनियमितता भएको विषय सार्वजनिक भएको उल्लेख गर्दै त्यसबारे निष्पक्ष र कानुनसम्मत छानबिन हुनुपर्ने माग गरे।
उनले अघिल्लो सम्झौता खारेज गरेर पुरानै कम्पनीलाई बढी मूल्यमा काम दिने उद्देश्यले चलखेल भइरहेको आरोपसमेत लगाए।




















