काठमाडौँ । इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्ले आफ्ना पूर्वसर्वोच्च नेता अयातोल्लाह अली खामेनीको ‘रगतको बदला’ अवश्य लिइने घोषणा गरेको छ।
इरानी सञ्चारमाध्यमका अनुसार परिषद्का सचिव मोहम्मद बाकर जोल्कदरको हस्ताक्षर रहेको विज्ञप्तिमा खामेनीको हत्याका दोषीमाथि प्रतिशोध लिइने उल्लेख गरिएको छ। विज्ञप्तिमा भनिएको छ, ‘अयातोल्लाह अली खामेनीको रगतको बदला निश्चित रूपमा उनका हत्यारासँग लिइनेछ।’
मोहम्मद बाकरको उक्त सन्देश सामाजिक सञ्जाल एक्समार्फत सार्वजनिक गरिएको बताइएको छ।
गत फेब्रुअरी २८ मा अमेरिका र इजरायलले संयुक्त हवाई आक्रमण गरी इरानका तत्कालीन सर्वोच्च नेता खामेनीको हत्या गरेका थिए। सोही आक्रमणमा खामेनीसहित इरानका धेरै शीर्ष अधिकारी तथा उनीहरूका परिवारका केही सदस्यको पनि मृत्यु भएको थियो।
बीबीसी फारसीका अनुसार खामेनीको अन्त्येष्टि समारोह जुलाई ४ देखि ८ सम्म तेहरान, कोम र मसहदमा आयोजना गरिनेछ। यसका साथै इराकका बगदाद, काजमिन, करबला र नजफ सहरमा पनि शोकसभा आयोजना गर्ने तयारी गरिएको छ।
यसैबीच, कतारको दोहामा अमेरिका र इरानबीच अप्रत्यक्ष वार्ता जारी रहेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उक्त वार्ता सकारात्मक दिशामा अघि बढिरहेको दाबी गरेका छन्।




















