काठमाडौँ । कञ्चनपुरका पत्रकार खेम भण्डारीलाई प्रहरीले पक्राउ गरी अदालतमा उपस्थित गराएको छ।
कञ्चनपुर जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक (एसपी) नेत्रमणि गिरीका अनुसार भण्डारीलाई आज बिहान भीमदत्त नगरपालिका–१८, कटानस्थित निवासबाट पक्राउ गरिएको हो।
‘अदालतको फैसला कार्यान्वयनका लागि पक्राउ गरेका हौँ। अहिले अदालतमा पेस गरेका छौँ,’ एसपी गिरीले बताए।
जिल्ला अदालत कञ्चनपुरले गाली बेइज्जती मुद्दामा पत्रकार भण्डारीलाई २०८२ जेठ १ गते १ महिना ७ दिन कैद सजाय र १२ हजार १०० रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो।
१३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनाका विषयमा पत्रकार भण्डारीले मानसखण्ड दैनिक र सामाजिक सञ्जालमार्फत लेखेका सामग्रीले आफ्नो प्रतिष्ठामा आँच पुगेको भन्दै तत्कालीन कञ्चनपुर प्रहरी प्रमुख एसपी दिल्लीराज विष्टका छोरा किरण विष्टले जिल्ला अदालत कञ्चनपुरमा गाली बेइज्जतीको मुद्दा दायर गरेका थिए।
जिल्ला अदालतको फैसलाविरुद्ध भण्डारीले उच्च अदालत दिपायलमा पुनरावेदन गरेका थिए। तर उच्च अदालत दिपायलको महेन्द्रनगर–धनगढी इजलासले गत चैत २२ गते जिल्ला अदालतको फैसला सदर गरेको थियो।




















