काठमाडौं । राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले सदनमा सांसदहरूले उठाएका विषयमा जवाफ दिन सरकारलाई रुलिङ गरेका छन्।
बुधबार बसेको राष्ट्रियसभाको बैठकमा अध्यक्ष दाहालले सरकारका सबै मन्त्रीहरूलाई सांसदहरूले उठाएका प्रश्न र सरोकारका विषयमा स्पष्ट जवाफ दिन निर्देशन दिएका हुन्।
रुलिङ गर्दै उनले भने, ‘राष्ट्रियसभाको बैठकमा माननीय सदस्यहरूले आकस्मिक समय, शून्य समय, विशेष समय र प्रादेशिक सरोकार समयमा उठाएका विषयको जवाफ सभामा दिन नेपाल सरकारका सबै माननीय मन्त्रीहरूलाई निर्देश गर्दछु।’
पछिल्ला बैठकहरूमा सांसदहरूले प्रधानमन्त्री बालेन शाहको विवादास्पद अभिव्यक्तिलगायत विभिन्न समसामयिक विषयमा सरकारको धारणा र जवाफ माग गर्दै आएका छन्।
यता, प्रतिनिधिसभामा पनि सांसदहरूले आफूहरूले उठाएका प्रश्नको जवाफ दिन सरकारलाई रुलिङ गर्न सभामुखसँग माग गरेका भए पनि हालसम्म त्यस्तो रुलिङ भएको छैन।




















