काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूले शपथ ग्रहण गरेका छन्।
काठमाडौंको बनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा पार्टी सभापति रवि लामिछानेले नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूलाई शपथ गराएका हुन्।
गत असार ७ देखि १२ गतेसम्म चितवनको भरतपुरमा सम्पन्न पार्टीको प्रथम महाधिवेशनबाट ६ जना पदाधिकारी र ९९ जना केन्द्रीय सदस्य निर्वाचित भएका थिए।
शपथ ग्रहणपछि सभापति लामिछानेले नवनिर्वाचित पदाधिकारी र सदस्यहरूलाई घण्टीजडित मायाको चिनो तथा प्रमाणपत्र प्रदान गरेका छन्।
९९ सदस्यीय केन्द्रीय समितिमा ९६ जनाको मात्र शपथ भएको छ । रास्वपाको निर्वाचन आयोगले पूर्वप्रकाशित मत परिणाममा दुईवटा संशोधन गरेको थियो । गण्डकी प्रदेशबाट चौथो सर्वाधिक मत ल्याएर निर्वाचित भएका सोम शर्मालाई केन्द्रीय सदस्यको सूचीबाट हटाएर पूजा बास्तोलालाई ल्याइएको थियो भने जनजाति क्लस्टरमा विजयी घोषित गरिएका कृष्णमान श्रेष्ठको स्थानमा ध्रुव थापामगरलाई समावेश गरिपछि शर्मा र श्रेष्ठले आयोगमा निवेदन दिएका थिए ।
आज शर्मा शपथग्रहणअघि केन्द्रीय कार्यालयमा उनीहरुसँग भएको छलफल टुंगोमा पुग्न नसकेपछि विवादित कसैको पनि शपथ नगराइएको बताइएको छ ।
सोम शर्मासँगै पूजा बास्तोला र उक्त प्रदेशबाट टप ५ मा नपरेर पनि केन्द्रीय बनाइएकी विष्णुकुमारी गुरुङको शपथ रोकिएको छ ।
रास्वपाले आजै पहिलो केन्द्रीय समिति बैठकसमेत बोलाउने तयारी गरेको छ। बैठकमा मनोनित गरिने ५१ केन्द्रीय सदस्यको विषयमा छलफल हुने बताइएको छ।
यसअघि सम्पन्न महाधिवेशनबाट रवि लामिछाने सभापतिमा निर्विरोध निर्वाचित भएका थिए।





















