काठमाडौँ । किलियन एम्बाप्पेको उत्कृष्ट प्रदर्शनको मद्दतले स्विडेनलाई सहजै पराजित गर्दै फ्रान्स फिफा विश्वकप फुटबल प्रतियोगिताको अन्तिम १६ मा प्रवेश गरेको छ।
अमेरिकाको न्यूयोर्कस्थित न्यूजर्सी रङ्गशालामा भएको एकपक्षीय खेलमा फ्रान्सले स्विडेनमाथि ३–० को शानदार जित दर्ता गर्यो। अब क्वार्टरफाइनल प्रवेशका लागि फ्रान्सले अन्तिम १६ मा पाराग्वेको सामना गर्नेछ ।
फ्रान्सलाई जित दिलाउन स्टार स्ट्राइकर किलियन एम्बाप्पेले दुई गोल गरे । खेलको ४५औँ मिनेटमा एम्बाप्पेले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए । दोस्रो हाफको सुरुवातमै फ्रान्सले आफ्नो अग्रता दोब्बर बनायो । ५३औँ मिनेटमा ब्राडली बारकोलाले गोल गर्दै टोलीलाई २–० को स्थितिमा पुर्याए ।
खेलको ७४औँ मिनेटमा एम्बाप्पेले व्यक्तिगत दोस्रो गोल गरेपछि फ्रान्सले ३–० को सहज जित सुनिश्चित गर्यो । स्विडेनले खेल अवधिभर फ्रान्सेली रक्षापङ्क्तिलाई खासै चुनौती दिन सकेन ।
विश्वकपको अन्तिम ३२ अन्तर्गत नै गए राति भएको अर्को खेलमा नर्वेले आइभरी कोस्टलाई २–१ गोलअन्तरले पराजित गर्दै अन्तिम १६ मा आफ्नो स्थान सुरक्षित गरिसकेको छ । त्यस्तै, अर्को खेलमा आज बिहान ६ः४५ बजे मेक्सिको र इक्वेडोरबीच प्रतिस्पर्धा हुँदैछ ।




















