काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारी हस्तक्षेपका कारण अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा)ले अखिल नेपाल फुटबल संघ (एन्फा)लाई निलम्बन गरेको आरोप लगाएका छन्।
नेपाल खेलकुद महासंघले मंगलबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले खेलकुद क्षेत्रमा राजनीतिक तथा सरकारी हस्तक्षेप रोक्नुपर्नेमा जोड दिए। उनले पार्टीसँग सम्बद्ध खेलकुदकर्मीलाई पनि खेल क्षेत्रलाई हस्तक्षेपमुक्त बनाउन सक्रिय हुन निर्देशन दिए।
एन्फामाथि फिफाले लगाएको प्रतिबन्धबाट खेलकुद क्षेत्रको मनोबल कमजोर बनाउन नहुने उल्लेख गर्दै उनले प्रतिबन्धको अवस्थाबाट मुक्त गराउन सबै पक्षले पहल गर्नुपर्ने बताए।
‘खेल क्षेत्रको विकासमा सरकारले ध्यान दिनुपर्ने हो। तर सरकार हस्तक्षेप गरेर एन्फालाई अन्तर्राष्ट्रिय खेलबाटै प्रतिबन्ध लाग्ने स्थितिमा पुर्याएको छ,’ ओलीले भने, ‘यो अवस्थालाई परिवर्तन गर्नैपर्छ। टुप्पो मात्र परिवर्तन गरेर हुँदैन, यसलाई जरैदेखि परिवर्तन गर्नुपर्छ, फेदैदेखि परिवर्तन गर्नुपर्छ।’
उनले खेलकुद क्षेत्रको समग्र विकासका लागि दीर्घकालीन योजना र आधारभूत संरचनामा सरकारले ध्यान दिनुपर्ने आवश्यकता औँल्याए। खेलकुदले देशको प्रतिष्ठा बढाउन महत्वपूर्ण योगदान दिने भएकाले यसको विकासमा सबै पक्षले पहल गर्नुपर्ने उनको भनाइ थियो।
‘तपाईँहरूको मनोबल कमजोर हुनुहुँदैन। एन्फा अहिले प्रतिबन्धमा परेको छ। त्यसलाई प्रतिबन्धको अवस्थाबाट उन्मुक्त गराउनुपर्छ,’ उनले भने, ‘विश्वका अन्य खेलाडीको जस्तै नेपाली खेलाडीको पनि अन्तर्राष्ट्रिय जगतमा नाम चम्किन सक्छ। उनीहरूको सफलताले नेपालको प्रतिष्ठा उँचो बनाउन सक्छ।’
अध्यक्ष ओलीले खेलकुद क्षेत्रको विकासका लागि आफू नेतृत्वको सरकारले महत्वपूर्ण काम गरेको दाबी गर्दै खेलकुद महासंघले पनि यस क्षेत्रमा सकारात्मक योगदान दिनुपर्ने बताए।




















