काठमाडौँ । सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रथम महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिको अद्यावधिक अन्तिम नामावली सार्वजनिक गरेको छ।
यसअघि महाधिवेशनको निर्वाचन परिणाम सार्वजनिक गर्दा छुटेका पूजा बास्तोला र ध्रुवकुमार थापा मगरको नाम समावेश गर्दै पार्टीले अन्तिम सूची जारी गरेको हो।
रास्वपाको केन्द्रीय निर्वाचन आयोगका अनुसार प्रारम्भिक नतिजा प्रकाशनका क्रममा प्राविधिक त्रुटि भएको पाइएको छ। आयोगले मत परिणाम, उम्मेदवारी दर्ताका कागजात तथा अन्य प्रमाणहरूको अध्ययनपछि जनजाति क्लस्टरतर्फ कृष्णमान श्रेष्ठको सट्टा ध्रुवकुमार थापा मगर निर्वाचित भएको निष्कर्ष निकालेको जनाएको छ।
त्यस्तै, प्रादेशिक (भूगोल) तर्फ गण्डकी प्रदेशको मत परिणाममा पनि त्रुटि भएको आयोगले जनाएको छ। प्रारम्भिक नतिजामा सोम शर्मा निर्वाचित भएको उल्लेख गरिए पनि मत परिणामको पुनः अध्ययनपछि पूजा बास्तोला निर्वाचित हुनुपर्ने देखिएकाले उनलाई गण्डकी प्रदेश, प्रादेशिक (भूगोल) तर्फ निर्वाचित घोषणा गरिएको आयोगले स्पष्ट पारेको छ।
निर्वाचन आयोगले प्रारम्भिक नतिजा सार्वजनिक गर्ने क्रममा भएको प्राविधिक त्रुटि सच्याउँदै दुवैलाई केन्द्रीय सदस्यमा निर्वाचित भएको अन्तिम निर्णय गरेको जनाएको छ।


























