काठमाडौं । नेदरल्यान्ड्सलाई पेनाल्टी सुटआउटमा ३–२ ले पराजित गर्दै मोरक्को फिफा विश्वकप २०२६ को अन्तिम १६ मा प्रवेश गरेको छ।
ग्वाडालाजार स्टेडियममा निर्धारित र अतिरिक्त समयको खेल १–१ को बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियो। रोमाञ्चक बनेको सुटआउटमा मोरक्कोका गोलकिपर यासिन बोनो नायक बने। उनले एक महत्वपूर्ण प्रहार बचाउँदै टोलीलाई अन्तिम १६ सम्म पुर्याए।
पेनाल्टीमा मोरक्कोका सौफिन रहिमी, चेम्सडाइन ताल्बी र इस्माइला साइबरीले गोल गरे। नेइल एल आइनाउइको प्रहार बाहिरिँदा कप्तान असरफ हाकिमीको प्रहार पोस्टमा लागेर फर्किएको थियो।
नेदरल्यान्ड्सका तर्फबाट टिउन कुपमेइनर्स र वाउट वेघोस्टले मात्र गोल गर्न सके। जस्टिन क्लुइभर्टको प्रहार पोस्टमा लागेर बाहिरिएको थियो भने क्विन्टन टिम्बरको प्रहार पनि लक्ष्यभन्दा बाहिर गयो। क्रइसेन्सियो समरभिलको प्रहार भने गोलकिपर बोनोले बचाएका थिए।
त्यसअघि खेलको ७२औँ मिनेटमा क्रइसेन्सियो समरभिलको पासमा कोडी गाक्पोले गोल गर्दै नेदरल्यान्ड्सलाई अग्रता दिलाएका थिए। तर अन्तिम समयमा अग्रता जोगाउन नसक्दा नेदरल्यान्ड्स बराबरीमा रोकियो।
इन्जुरी टाइमको पहिलो मिनेटमा चेम्सडाइन ताल्बीको पासमा इसा डिओपले गोल गर्दै खेल १–१ को बराबरीमा पुर्याए। त्यसपछि खेल अतिरिक्त समय हुँदै पेनाल्टी सुटआउटमा पुगेको थियो, जहाँ मोरक्कोले बाजी मार्दै अन्तिम १६ मा स्थान सुरक्षित गर्यो।




















