संखुवासभा । संखुवासभाको सिलिचोङ गाउँपालिका–१ म लगातारको वर्षापछि आएको बाढीपहिरोले सात परिवार विस्थापित भएका छन् ।
अविरल वर्षासँगै आएको बाढीपहिरोका कारण सिलिचोङ–१ तेन्छोङका सात परिवार विस्थापित भएका हुन् ।
शनिबार रातिदेखि आएको वर्षाका कारण बाढीपहिरो आउँदा सिलिचोङ–१ तल्लो तेन्छोङका सात परिवार विस्थापित भएका जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख एवं प्रहरी निरीक्षक धनबहादुर राजवंशीले जानकारी दिए ।
उनका अनुसार कुन्ती राईसहित परिवारका पाँच जना, धनपूर्ण राईको सात जनाको परिवार, मंगलबहादुर राईको ६ जनाको विस्थापित भएको हो ।
सुकप्रसाद राईको चारजनाको, मिरा राईको पाँचजनाको धनमान राईको तीन जनाको र अरुणसंगम राईको परिवार विस्थापित भएको प्रहरी निरीक्षक राजवंशीले बताए । पहिरोबाट विस्थापित सात परिवारलाई गाउँपालिकाको सहयोगमा सुरक्षित स्थानमा सारिएको छ ।
बस्तीमाथिको जमिन चिरा परेपछि स्थानीयलाई सिसुवा प्रहरी चौकीको सहयोगमा सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ । घटनालगत्तै सोमबार बिहान जिल्ला प्रहरी कार्यालय संखुवासभाबाट प्रहरी नायब निरीक्षक अनिल भुजेलको नेतृत्वमा १० जनाको टोली घटनास्थलमा खटिएको प्रहरी निरीक्षक राजवंशीले जानकारी दिए । उनका अनुसार थप क्षतिको विवरण संकलन तथा अनुगमन भइरहेको छ । रासस



















