काठमाडौं । बझाङको दुर्गाथली गाउँपालिकामा मन्दिर निर्माणका क्रममा २२ लाख रुपैयाँभन्दा बढी अनियमितता भएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
अख्तियारका अनुसार बाँठपाली देवताको मन्दिर निर्माणका लागि ४५ लाख रुपैयाँ बजेट विनियोजन गरिएको थियो। उक्त योजनाअन्तर्गत उपभोक्ताबाट ११ लाख सात हजार रुपैयाँ बराबरको काम हुने र २ लाख २५ हजार रुपैयाँ कन्टेन्जेन्सी खर्च हुने उल्लेख गरिएको थियो।
तर वास्तविक कामको मूल्यांकनभन्दा २२ लाख एक हजार रुपैयाँ बढी भुक्तानी दिई राज्यको रकम हिनामिना गरिएको निष्कर्षसहित अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको जनाएको छ।
मुद्दामा छविसपाथिभेरा गाउँपालिकाकी तत्कालीन उपाध्यक्ष राधिकाकुमारी रताला, वडा नम्बर ६ का अध्यक्ष मोहनलाल विक, मन्दिर निर्माण समितिका अध्यक्ष कृष्ण बुढा, सचिव जयबहादुर बुढा र कोषाध्यक्ष मधुलीदेवी बुढालाई प्रतिवादी बनाइएको छ।
त्यसैगरी, दुर्गाथली गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख मकरबहादुर मण्डेल, लेखापाल प्रेमप्रसाद पौडेल, छविसपाथिभेरा गाउँपालिकाका इन्जिनियर हिक्मत रावल तथा सबइन्जिनियर बमबहादुर बोहराविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर गरिएको छ।
उनीहरूले आर्थिक वर्ष २०७५/७६ को बजेटबाट मन्दिर निर्माणको काम सम्पन्न गरेको अख्तियारले जनाएको छ।




















