काठमाडौं । डा. शास्त्रदत्त पन्तद्वारा लिखित, पृथ्वीपथ प्रतिष्ठानद्वारा प्रकाशित पुस्तक ‘पृथ्वी पथ’ शनिबार काठमाडौंको भोजन गृहमा समाजसेवी तथा पर्यटन व्यवसायी भरत बस्नेतद्वारा आयोजित एक कार्यक्रमका बीच विमोचन भएको छ ।
१३८ वटा भन्दा बढी पुस्तक लेखिसकेका डा. पन्तद्वारा लिखित ‘पृथ्वी पथ’ नामक पुस्तक आधुनिक नेपालका राष्ट्रनिर्माता तथा नेपाल एकीकरण अभियानका प्रणेता श्री ५ पृथ्वीनाराण शाहको राष्ट्रिय एकता, सार्वभौमिकता, आत्मनिर्भरको नीति र विकासको मार्गदर्शन दिव्यउपदेश र उनका विचारमा आधारित छ ।
पुस्तक विमोचन कार्यक्रमका प्रमुख अतिथि प्राज्ञ डा. जगमान गुरुङले पुस्तक अत्यन्त उपयोगी भएको बताए । पृथ्वीपथले राजा (राज्यसञ्चालक) लाई सतर्क गराउने जिम्मा जनतालाई दिएको उल्लेख गर्दै डा. गुरुङले राजाले जनतालाई फर्काएको राज्यसञ्चालनको साँचो विरालाको घाँटीमा झुण्डिन पुगेको बताउँदै त्यसलाई जनताले राजालाई नै फिर्ता गर्नुपर्ने बताएका छन् ।
राजावादीहरु स्वार्थमा लाग्दा राजा फर्काउने आन्दोलनले गति लिन नसकेको उल्लेख गर्दै गुरुङले राजावादीहरुले राजासँग वार्गेनिङ गर्न नहुने र राजाले पनि भरत बस्नेत जस्तै निस्वार्थी व्यक्ति पहिचान गरेर परिचालन गर्नुपर्ने बताए । उनले राजसंस्था फर्काएर रामराज्य सञ्चालन गर्नुपर्नेमा जोड दिए ।
गृहमन्त्री सुदन गुरुङले दरवार हत्याकाण्डको छानविन गर्छु भन्नु इस्टन मात्र भएको बताउँदै आफु पपुलर हुन राजसंस्थाको विरोध गर्नेहरु पहिलेदेखि नै रहेको बताए ।
दरवार हत्याकाण्ड र राजसंस्था हटाउनमा विदेशीको हात रहेको बताउँदै डा. गुरुङले नेपालमा बढ्दो अमेरिकी र टिओवीको प्रभावले राजा हटाउने भारत हाल चिन्तित देखिएको बताएका छन् ।

त्यस्तै वरिष्ठ पत्रकार युवराज घिमिरेले मुलुकको सुशासन, विकास निर्माण, अर्थोउपार्जन र राष्ट्रियता बलियो बनाउनका लागि पृथ्वी विचार झनझन सान्दर्भिक भएको बताउँदै पृथ्वी पथ पुस्तक सन्देश मुलुक रहेको बताए ।
देशलाई कमजोर पार्न त्यहाँको मौलिकतामा प्रहार हुने गरेको वताउँदै उनले अनुसन्धानमुलक पुस्तक रहेकाले यसलाई स्कुल, कलेज, पुस्तकालयसम्म पुर्याउनु पर्ने बताए । उनले पाठयपुस्तकमै समेटेर पृथ्वीविचारलाई अगाडि बढाउनु पर्ने पनि बताएका छन् ।
त्यस्तै खगेन्द्रराज सिटौलाले पृथ्वीविचारलाई विदेशीहरुले अनुशरण गरेको दावी गर्दै नेपालले नीति निर्माण प्रयोग गर्नुपर्ने, पाठ्यपुस्तकमा समेट्नु पर्ने, योजना आयोगले ध्यान दिनुपर्ने, स्वदेशी उत्पादन र प्रयोगलाई प्रोत्साहन गर्न उत्पादन दिवस मनाउनु पर्ने र त्यसै दिन प्रेम दिवस पनि सँगै मनाउँदा स्वदेश उत्पादनको खपत हुने बताएका छन् ।

पुस्तकका लेखक पन्तले श्री ५ पृथ्वीनारायण शाहकै दर्शनबाट हाम्रा सबै भाषा, सबै जाति, सबै संस्कृतिको समान उन्नतिबाट नेपाल अधिराज्यको विशिष्ट पहिचान कायम सुरु भएको, सुदृढ भएको बताए । उनी नेपाली राष्ट्रियताका बीज पुरुष तथा समस्त नेपाली हृदयका परम श्रद्धा केन्द्रमा रहेका युगपुरुष भएको बताए ।
‘जुनसुकै सम्प्रदाय, पन्थ, वर्ण, जात वा जातिका भए पनि समान आकांक्षा र नेपालको राष्ट्रिय स्वतन्त्रता र अखण्डताप्रति आस्थावान् रही एकताको सूत्रमा आबद्ध गर्ने सबै नेपाली जनता समष्टि रूपमा एक राष्ट्र हो भनेर नेपालको संविधान २०४७ ले मानेको पनि उनकै पथ प्रदर्शनमा हो । अनेकतामा एकता बनाउने नै वैदिक सस्कारको राजसंस्था सदासदाका लागि आवश्यक मानिएको हो ।’ लेखक पन्तले भने ।
राजा पृथ्वीकै कारणले नेपाल वसुधैबम कुटुम्बकम सूत्रबाट संपुष्टि भएको दावी गर्दै लेखक पन्तले भनेका छन् “धमार्थ बुझेका पश्चिमी विज्ञले नेपालको अर्थ अंग्रेजी अक्षर अनुसार ‘नेभर एन्डिङ पीस एन्ड लभ’ अर्थात् कहिल्यै नअस्ताउने सूर्यचन्द्र ध्वज बहाक नेपालका रूपमा चिनिएको हो । पश्चिमा विज्ञका यस्ता बुझाइ खास गरेर मुलुक श्री ५ वीरेन्द्रको शान्ति–क्षेत्र प्रस्तावलाई विश्वले सकारेपछि भएको थियो ।”
पृथ्वीनारायण शाह हिमवतखण्ड नेपालका निर्माता र संरक्षक रहेको वताउँदै लेखक पन्तले उनको दिगो सम्मानका लागि नेपालका सबै नोट र मुद्राहरूमा श्री ५ बडामहराजाधिराज पृथ्वीको चित्र अङ्कित हुनुपर्ने बताएका छन् ।
पृथ्वीपथ प्रतिष्ठानका अध्यक्ष भरत बस्नेतले श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाह एक अलौकिक बरदपुत्र नेता– राजा भएको बताए । विश्वका अनेकौ राजनेताहरूले पनि उनीबाट अनेक प्रेरणा लिएको दावी गर्दै उनले इतिहासको कालखण्डमा यस्ता नेता–राजा कहिलेकाहिंमात्र जन्मने बताए । पृथ्वीनारायण शाह वैदिक सनातन धर्मशासन पद्धतिको पछिल्लो शुद्ध मुलुक नेपालका निर्माता र संरक्षक रहेको बताउँदै बस्नेतले त्यसअर्थमा मुलुकमा उनको जति सम्मान हुनु पर्दथ्यो त्यति हुन नसकेको बताए ।
सुशासनका लागि पृथ्वीपथको आवश्यकता झन टड्कारो भएकोले पृथ्वी विचारलाई देशभर फैल्याउन आफूले २०५२ देखि नागरिक स्तरमा विभिन्न कार्यक्रम सुरु गरिएको बस्नेतले बताए । उनले पुस २७ पृथ्वी जयन्ती मनाउने, दिव्यउपदेश प्रकाशन÷वितरण, पृथ्वी विचारको प्रकाशन/वितरण, विचार गोष्ठी आयोजना, पुस्तक प्रकाशन, पृथ्वीनारायणका सालिकको संरक्षण, मर्मत, सरसफाइका साथै नयाँ सालिक निर्माण जस्ता कार्य प्रतिष्ठानले गर्दै आएको बताए ।




















