काठमाडौं । नेपाली कम्युनिष्ट आन्दोलनलाई समाजवादी क्रान्तिको नयाँ चरणअनुसार अघि बढाउन ‘नेपाली विशेषताको वैज्ञानिक समाजवादी कार्यक्रम’ आवश्यक रहेको नेकपाका सम्मानित नेता झलनाथ खनालले बताएका छन्।
कम्युनिष्ट आन्दोलनका संस्थापक नेता पुष्पलाल श्रेष्ठको १०२औँ जन्मजयन्तीका अवसरमा सोमबार आयोजित पुस्तक विमोचन कार्यक्रममा बोल्दै खनालले अहिले पनि नयाँ जनवादी क्रान्तिकै कार्यक्रम बोकेर समाजवादी क्रान्तिलाई पूर्णता दिन नसकिने धारणा व्यक्त गरे।
उनले समय, समाजको प्रधान अन्तर्विरोध, क्रान्तिका मित्र र शत्रु तथा अन्तर्राष्ट्रिय परिस्थिति सबै परिवर्तन भइसकेको उल्लेख गर्दै कम्युनिष्ट आन्दोलनले पनि नयाँ कार्यदिशा तय गर्नुपर्ने आवश्यकता औँल्याए।
खनालले भने, ‘अब समाजवादी क्रान्तिको युग सुरु भएको छ। त्यसैले अबको क्रान्तिको कार्यक्रम के हुने भन्ने विषयमा गम्भीर बहस आवश्यक छ। नयाँ जनवादी क्रान्तिका पुराना कार्यक्रमका आधारमा वर्तमान समाजवादी रूपान्तरणको लक्ष्य हासिल गर्न सकिँदैन। समय, क्रान्तिको स्वरूप, समाजको अन्तर्विरोध तथा अन्तर्राष्ट्रिय परिस्थिति सबै बदलिइसकेका छन्। त्यसैले अब वैज्ञानिक समाजवादको नयाँ कार्यक्रम अघि सार्नुपर्छ।’
उनले आफूद्वारा लिखित ‘वैज्ञानिक समाजवाद कि बहुदलीय जनवाद’ पुस्तकले यही वैचारिक बहसलाई प्रतिनिधित्व गर्ने बताए। नेपालका कम्युनिष्ट शक्तिहरू एक ठाउँमा उभिएर वैज्ञानिक समाजवादको साझा कार्यक्रम घोषणा गर्नुपर्ने समय आएको उनको भनाइ थियो।
मार्क्सवादी द्वन्द्वात्मक भौतिकवादको सिद्धान्तअनुसार संसारमा कुनै पनि वस्तु वा संस्थाको उत्पत्ति र अन्त्य हुने उल्लेख गर्दै खनालले यही नियम राजनीतिक दलहरूमा पनि लागू हुने तर्क गरे। उनले आदिम साम्यवाद, दासप्रथा र सामन्ती व्यवस्थामा आधुनिक अर्थमा राजनीतिक दलको अस्तित्व नरहेको र पुँजीवादको विकाससँगै पुँजीपति तथा श्रमिक वर्गका राजनीतिक दलहरूको उदय भएको बताए।
खनालले कम्युनिष्ट पार्टीका तीन ऐतिहासिक जिम्मेवारी रहेको उल्लेख गर्दै पहिलो जनवादी क्रान्ति सम्पन्न गर्ने, दोस्रो समाजवादी क्रान्ति सम्पन्न गर्ने र तेस्रो समाजवाद निर्माण गर्दै समाजलाई साम्यवादसम्म पुर्याउने कार्य भएको बताए। यी जिम्मेवारी पूरा भएपछि कम्युनिष्ट पार्टीको आवश्यकता पनि समाप्त हुने उनको धारणा थियो।
उनले वर्तमान पुँजीवादी व्यवस्थाले भ्रष्टाचार, शोषण, अन्याय र अत्याचारजस्ता समस्याको समाधान गर्न नसक्ने दाबी समेत गरे।




















