काठमाडौं । प्रतिनिधिसभाका सांसदहरूलाई संसदीय प्रक्रिया, विधि र अभ्यासबारे जानकारी गराउने उद्देश्यले सङ्घीय संसद् सचिवालयले दुईदिने प्रशिक्षण कार्यक्रम सञ्चालन गरेको छ।
संसद् भवनभित्रको सभा हलमा सुरु भएको प्रशिक्षण कार्यक्रम भोलिसम्म सञ्चालन हुने संसद् सचिवालयले जनाएको छ। संसदीय प्रशिक्षण शाखाद्वारा सञ्चालन गरिएको कार्यक्रममा सांसदहरूलाई संसदीय प्रक्रिया, नियम, अभ्यास तथा विधिका विविध पक्षबारे जानकारी गराइँदै छ।
नवनिर्वाचित सांसदहरूमा संसदीय प्रक्रिया, अभ्यास र नियमसम्बन्धी पर्याप्त जानकारीको अभावका कारण सदनमा अपेक्षित परिपक्वता नदेखिएको टिप्पणी भइरहेका बेला संसद् सचिवालयले अभिमुखीकरण कार्यक्रम आयोजना गरेको हो।
कार्यक्रमको उद्घाटन गर्दै सभामुख डोलप्रसाद अर्यालले जनताबाट निर्वाचित भएपछि सांसदको जीवन निजी दायराबाट सार्वजनिक जीवनमा प्रवेश गर्ने भएकाले सोहीअनुसार जिम्मेवार, मर्यादित र उत्तरदायी व्यवहार प्रदर्शन गर्नुपर्नेमा जोड दिए।
त्यसैगरी, संसद् सचिवालयका महासचिव पद्यप्रसाद पाण्डेयले सांसदहरूलाई संसदीय प्रक्रिया, विधि र अभ्यासबारे थप जानकारी प्रदान गर्ने उद्देश्यले अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको बताए।
सिंहदरबारस्थित संसद् भवन परिसरमा सञ्चालन भइरहेको यो प्रशिक्षणले सांसदहरूको संसदीय कार्यसम्पादनलाई थप प्रभावकारी र परिपक्व बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।























