काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले सांसदका काम, व्यवहार र शैलीलाई मतदाता तथा आमजनताले निरन्तर नियालिरहेको उल्लेख गर्दै जनप्रतिनिधिहरू आफ्नो जिम्मेवारीप्रति थप उत्तरदायी हुनुपर्ने बताएका छन्।
सङ्घीय संसद् सचिवालयले प्रतिनिधिसभाका सांसदहरूका लागि आयोजना गरेको अभिमुखीकरण कार्यक्रमको उद्घाटन गर्दै सभामुख अर्यालले कानुन निर्माणको प्रक्रियामा विगतका सकारात्मक अभ्यासबाट सिक्दै सांसदहरू अध्ययनशील र प्रविधिमैत्री बन्न आवश्यक रहेको बताए।
उनले प्रतिनिधिसभामा धेरै नयाँ सांसद रहेको उल्लेख गर्दै संसदीय विधि र प्रक्रियाबारे थप जानकारी गराउने तथा सांसदको कार्यसम्पादनलाई प्रभावकारी बनाउने उद्देश्यले अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको जानकारी दिए। संसदीय प्रक्रिया र विधिमा दक्षता हासिल गर्न यस्तो सिकाइ उपलब्धिमूलक हुने विश्वास पनि उनले व्यक्त गरे।
सभामुख अर्यालले जनताबाट निर्वाचित भएपछि सांसदको जीवन निजी दायराबाट सार्वजनिक जीवनमा प्रवेश गर्ने भएकाले सोहीअनुसार जिम्मेवार, मर्यादित र उत्तरदायी व्यवहार प्रदर्शन गर्नुपर्नेमा जोड दिए।
कार्यक्रममा संसद् सचिवालयका महासचिव पद्यप्रसाद पाण्डेयले स्वागत मन्तव्य व्यक्त गर्दै सांसदहरूलाई संसदीय प्रक्रिया, विधि र अभ्यासबारे थप जानकारी दिने उद्देश्यले अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको बताए।
सङ्घीय संसद् सचिवालयले सिंहदरबारस्थित संसद् भवन परिसरमा आज र भोलि दुईदिने प्रशिक्षण कार्यक्रम सञ्चालन गरेको छ।




















