काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले बाँझो जमिन राख्ने प्रवृत्तिको अन्त्य गर्दै कृषिको आधुनिकीकरण, व्यवसायीकरण र उत्पादन वृद्धि गर्नुपर्नेमा जोड दिएका छन्।
२३औँ राष्ट्रिय धान दिवस, २०८३ का अवसरमा शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति पौडेलले विदेश पलायन भइरहेका जनशक्तिलाई स्वदेशमै रोक्न कृषिलाई आकर्षक र सम्मानजनक पेसाका रूपमा विकास गर्न आवश्यक रहेको बताए। उनले कृषिमा आधुनिक प्रविधिको प्रयोग बढाउन सके धान तथा चामलको आयात घटाउन महत्वपूर्ण योगदान पुग्ने उल्लेख गरे।
राष्ट्रपतिले श्रम संस्कृतिको विकाससँगै धान उत्पादनमा आत्मनिर्भर बन्न सम्पूर्ण प्रयास केन्द्रित गर्नुपर्ने आवश्यकता औँल्याउँदै कृषि केवल जीविकोपार्जनको माध्यम नभई व्यावसायिक उद्यमका रूपमा विकास हुनुपर्ने धारणा व्यक्त गरे। यसका लागि सम्बन्धित निकायले आवश्यक नीति, योजना र सहयोगमा विशेष ध्यान दिनुपर्ने उनको भनाइ छ।
असार महिनालाई धान रोपाइँ तथा कृषि गतिविधिका दृष्टिले विशेष महत्वको समय भएको उल्लेख गर्दै उनले नेपाली जीवनशैली प्रकृति र माटोसँग घनिष्ठ रूपमा जोडिएको बताए। हिलोमा रमाउँदै धान रोप्ने परम्परा तथा दही, चिउरा, अचारजस्ता परिकारले धान दिवसलाई सांस्कृतिक रूपमा अझ महत्वपूर्ण बनाउने उनले उल्लेख गरे।
राष्ट्रपति पौडेलले जलवायु परिवर्तनका कारण धानखेतीमा बढ्दो चुनौती देखिएको भन्दै उत्पादन र उत्पादकत्व वृद्धि गर्न सरकार, कृषक तथा सरोकारवाला पक्ष सचेत र सक्रिय हुनुपर्ने बताए। उनले जलवायुमैत्री प्रविधिको प्रयोगमार्फत खाद्यान्न सुरक्षालाई थप मजबुत बनाउनुपर्ने आवश्यकता औँल्याए।
संविधानले खाद्यसम्बन्धी हकलाई मौलिक अधिकारका रूपमा सुनिश्चित गरेको स्मरण गराउँदै राष्ट्रपतिले कृषकलाई आवश्यक कृषि सामग्री, उत्पादनको उचित मूल्य र बजार पहुँच उपलब्ध गराउन राज्यको दायित्व रहेको बताए। धान नेपालको प्रमुख खाद्यान्न बाली भएकाले यसको आर्थिक, सामाजिक, सांस्कृतिक र धार्मिक महत्व विशेष रहेको उनको भनाइ छ।
नेपालको धानखेती अझै पनि वर्षामा निर्भर रहेको उल्लेख गर्दै उनले धानखेतीयोग्य जमिनमा पर्याप्त सिँचाइ सुविधा विस्तार गर्न राज्यले प्राथमिकताका साथ ध्यान दिनुपर्ने धारणा व्यक्त गरेका छन्।
यस वर्ष ‘जलवायुमैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि’ भन्ने नारासहित राष्ट्रिय धान दिवस मनाइँदै छ।




















