काठमाडौं । कागका कारण काठमाडौं उपत्यकामा बर्डफ्लु व्यापकरूपमा फैलिएको पुष्टि भएको छ । यहाँका कागमा बर्डफ्लु रोग देखिएपछि उपत्यकाभर फैलिएको विज्ञले बताएका छन् ।
पशु सेवा विभागका महानिर्देशक डा. उमेश दाहालले कागमा बर्डफ्लु देखिएकाले उपत्यकाभर फैलिएको बताए । ‘कुखुरामा देखिएको बर्डफ्लुलाई नियन्त्रणमा लिन सकिन्छ । तर, बर्डफ्लु देखिएका कागलाई नियन्त्रणमा लिन सकिदैन । सदर चिडियाखानालगायत धेरे ठाउँमा कागले सङ्क्रमण सारेको छ’, उनले भने ।
सङ्क्रमित कागले एक ठाउँबाट उडेर अर्को ठाउँ रोग सार्ने गरेको दाहालले बताए । कागमा देखिएको सङ्क्रमण २१ दिनसम्म रहने भएकाले धेरै नै बर्डफ्लु रोग सार्न सक्ने उनको भनाइ छ ।
‘काग मरेपछि कहाँ मरेको भन्ने थाहा हुँदैन । अनि त्यही मरेको कागले बर्डफ्लु सार्ने गरेको छ । कागको सुलीले पनि धेरै नै बर्डफ्लु सार्ने गर्दछ’ दाहालले भने ।
हाल काठमाडौं उपत्यकाका तीनै जिल्लामा बर्डफ्लु देखिएको छ । देशभर ११ जिल्लाका १०० ठाउँमा बर्डफ्लुको सङ्क्रमण देखिएको पशु सेवा विभागले जनाएको छ ।
महानिर्देशक डा. दाहालले उपत्यकामा कीर्तिपुर र कागेश्वरी मनहराबाहेक सबै ठाउँमा बर्डफ्लु नियन्त्रण लिइसकिएको बताए । बर्डफ्लु पन्छीमा लाग्ने उच्च मृत्युदर भएको एक सङ्क्रामक रोग हो । रासस



















