काठमाडौं । स्ट्रेट अफ हर्मुजमा पानामा झन्डा भएको एक तेलवाहक जहाजमा ड्रोन आक्रमण भएपछि अमेरिकाले इरानविरुद्ध फेरि सैन्य कारबाही सुरु गरेको छ।
अमेरिकी केन्द्रीय कमान्ड (सेन्टकम) ले इरानका विभिन्न स्थानमा लक्षित आक्रमण गरिएको जनाएको छ। सेन्टकमका अनुसार अन्तर्राष्ट्रिय व्यापारिक ढुवानीमाथि भइरहेको ‘निरन्तर आक्रामक गतिविधि’को प्रतिकारस्वरूप यो कारबाही गरिएको हो।
बीबीसीका अनुसार अमेरिकी आक्रमण इरानका सैन्य उपकरण, सञ्चार प्रणाली, वायु रक्षा संयन्त्र तथा ड्रोन भण्डारण केन्द्रहरूलाई लक्षित गरी गरिएको छ।
सेन्टकमले जारी गरेको विज्ञप्तिमा इरानलाई युद्धविराम सम्झौताको सम्मान गर्ने अवसर दिइएको भए पनि त्यसले सम्झौता उल्लंघन गरेको आरोप लगाइएको छ। विज्ञप्तिअनुसार इरानी सेनाले ड्रोन प्रयोग गरी एम/टी किकु नामक ट्यांकरमा आक्रमण गरेको थियो।
पानामा झन्डा भएको उक्त ट्यांकरले २० लाख ब्यारेलभन्दा बढी कच्चा तेल बोकेर स्ट्रेट अफ हर्मुज हुँदै यात्रा गरिरहेको सेन्टकमले जनाएको छ।
अमेरिकाको पछिल्लो आक्रमणबारे इरानले भने अहिलेसम्म कुनै आधिकारिक प्रतिक्रिया दिएको छैन।
यसबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धविराम उल्लंघन दोहोरिए इरानको अस्तित्व नै समाप्त हुन सक्ने चेतावनी दिएका छन्।
ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेखेका छन्, ‘युद्धविराम सम्झौता फेरि उल्लंघन भएपछि अमेरिकी विमानले इरानका क्षेप्यास्त्र र ड्रोन भण्डारण केन्द्र तथा रडार प्रतिष्ठानहरूमा प्रहार गरेका छन्।’
उनले थप लेखेका छन्, ‘इरानले कहिल्यै पाठ सिक्दैन जस्तो देखिन्छ। यदि आवश्यक पर्यो भने हामीले सैन्य बल प्रयोग गरेर सुरु गरेको काम पूरा गर्न बाध्य हुनेछौँ।’
ट्रम्पले चेतावनी दिँदै भनेका छन्, ‘यदि त्यसो भयो भने इरानको इस्लामिक गणतन्त्र अस्तित्वमा रहनेछैन।’
हालै मात्र अमेरिका र इरानबीच युद्ध अन्त्यका लागि शान्ति सम्झौतामा हस्ताक्षर भएको थियो। उक्त सम्झौता कार्यान्वयनका विषयमा दुवै देशबीच असार ७ गते स्विट्जरल्यान्डमा पहिलो चरणको वार्ता पनि भएको थियो। तर पछिल्ला घटनाक्रमले दुई देशबीचको तनाव पुनः चर्किएको संकेत गरेको छ।




















